कविता प्रतियोगितामा सन्देश अब्बल

काठमाडौं । विश्व नेपाली साहित्य महासंघले आयोजना गरेको द्वितीय विश्वव्यापी खुला कविता प्रतियोगितामा पाँचथरका सन्देश सुब्बा प्रथम भएका छन् । उनको ‘सिकर्मी’ शीर्षकको कविता एक सय १४ प्रतियोगीलाई पछि पार्दै उत्कृष्ट बनेको हो । ६ साहित्यिक संस्थाको सह–आयोजनामा भएको प्रतियोगितामा दक्षिण कोरियामा रहेका शंकर निरौला ‘निरक्षर’ को ‘देश देश जस्तो छैन’ द्वितीय र काठमाडौंका प्रथाको ‘समाजशास्त्रको आँसु’ तृतीय भएको थियो ।
त्यसैगरी महिलातर्फ बेलायतकी भावना परिष्कृत सुनुवारको ‘सावधान, म सपना कोरलिरहेछु’ र भाषाभाषीतर्फ पुनम ठाकुर (मैथिली) को ‘मैथिली आमाको व्यथा’ उत्कृष्ट बन्यो । प्रतियोगितामा नेपालका २८ जिल्ला र १३ मुलुकबाट गरी एक सय ३४ ले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायकमा भारत सिक्किमबाट डा. राजेन्द्र भण्डारी र कविता लामा तथा नेपालबाट ठाकुर बेलवासे रहेका थिए ।
विजयी कविलाई २० हजार, १० हजार, पाँच हजार र उत्कृष्टद्वयले ५–५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट २० कविताको चिनियाँ र हिन्दीमा अनुवाद गरी संग्रह प्रकाशन गरिने साहित्य महासंघका केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेलाले बताए । विजयीलाई अनुकूलता मिलाई पुरस्कार प्रदान गरिनेछ । यसअघि साहित्य महासंघले सन् २०११ मा प्रथम विश्वव्यापी कविता प्रतियोगिता आयोजना गरेको थियो ।
महासंघले भूकम्पमा परेकालाई जीवितै उद्धार गर्नेमध्येलाई ५० हजार रुपैयाँ राशिको पुरस्कार घोषणा पनि गरिसकेको छ । महासंघको विश्वभर १७ मुलुकमा २४
शाखा छन् । (सौस)

प्रतिक्रिया