काठमाडौं । निर्माता, निर्देशक एवं अभिनेता आकाश अधिकारीको द स्काइ मुभिज प्रालिको पहलमा चीनको पोसिबल फिल्म प्रोडक्सनबाट आएका विभिन्न राहत सामग्रीलाई भूकम्प प्रभावित क्षेत्रमा पुर्याउनका लागि एक समिति गठन गरिएको छ । आकाशकै संयोजकत्वमा गठित समितिले त्यहाँबाट आएका करिब एक सय २२ थान टेन्ट, दुई सय थान ब्ल्यांकेट र तीन सय प्लास्टिक प्याडलाई भूकम्प प्रभावित क्षेत्रमा लैजानेछ ।
बिहीबार गठित समितिको सहसंयोजकमा सञ्चारकर्मी प्रकाश सुवेदी छन् भने सदस्यमा कलाकारद्वय करिश्मा मानन्धर, दीपाश्री निरौला, निर्माता एवं गीतकार बाबुराम दाहाल, सञ्चारकर्मीहरू शान्ति प्रिय, सामिप्य तिमल्सिना, सुशील पौडेल तथा सम्झना बन, सुरेश अधिकारी र आर्यन अधिकारी छन् । ‘समितिमा रहेका सदस्यको निर्णयबाट भूकम्प प्रभावित क्षेत्रका अति प्रभावित व्यक्तिलाई हामीसँग भएको सामग्री वितरण गर्नेछौँ ।’ संयोजक आकाशले भने ।
आशाको ज्योति नेपाल नामक संस्थाका अध्यक्षसमेत रहेका आकाशले आफ्नो संस्थाले २४ लाख बराबरको राहत सामग्री वितरण गरिसकेको र चीनबाट प्राप्त राहत सामग्रीको मूल्य झन्डै ४० लाख नेपाली रुपैयाँ हुन आउने बताए । कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, कलाकारद्वय मानन्धर र निरौलाले आकाशको कामलाई शुभकामना दिएका थिए । (सौस)
प्रतिक्रिया