२८ किलो सुन, ७५० जोर जुत्ता तथा १० हजार सारीकी धनी जयरामले सपथ लिइन्

jayalalitaनयाँ दिल्ली । भारतको एक अदालतले यस मुलुकका सबैभन्दा शक्तिशाली राजनीतिज्ञमध्ये एक तमिल नेत्री जयललिता जयरामलाई भ्रष्टाचारको मुद्दाबाट मुक्ति दिएपछि शनिबार तमिल नाडु राज्यको मुख्यमन्त्री पदमा फर्किएकी छन् ।

पूर्व चलचित्र नायिका जयललिता जयरामले तमिल नाडु राज्यमा मुख्यमन्त्री पदमा रहेको समयमा गैरकानुनी रूपमा सम्पत्ति जम्मा गरेको भनी गत सेप्टेम्बरमा उनलाई दोषी ठहर गरिएपछि पदबाट हट्न बाध्य भएको थियो ।

दुई वर्षसम्म चलेको यस मुद्दामा ६७ वर्षीया नेत्री जयरामलाई चार वर्षसम्मको कारावास तथा एक अर्ब रूपैँया जरिवानाको सजाय तोकिएको थियो । यसै महिनाको आरम्भमा उच्च अदालतले उनलाई भ्रष्टाचारको उक्त आरोपबाट मुक्त गरेको छ ।

मद्रास विश्वविद्यालयमा ठूलो भेलाबीच हरियो सारीमा रहेकी जयरामले सपथ ग्रहण गरेको र उक्त समयमा उनका २८ मन्त्री उनीपछाडि उभिएका थिए ।

तमिल नाडुमा नेत्री जयरामले निकै लोकप्रियता कमाएकी छन् भने समर्थकले उनलाई ‘अम्मा’को नामबाट बोलाउने गर्छन् । उनका अगाडि मन्त्रीहरू निःसहाय जस्ता देखिन्छन् ।

उनी सपथ ग्रहण गर्न राज्यको केन्द्रमा रहेको स्थलतर्फ जाँदा सयौँ समर्थकहरू पार्टीको झण्डा बोकेर सडक किनारामा उभिएका थिए । उनको गाडी अगाडि बढ्दा भिड नियन्त्रण गर्न प्रहरीलाई निकै कठिनाइ भएको थियो ।

उनका तस्वीर लिएका समर्थकहरूले खुसीमा नाच्दै गाउँदै मिठाइ बाँडेका थिए ।

जयललिताले तमिल नाडुमा ‘‘अम्मा क्यान्टिन’’ जस्ता निकै लोकप्रिय कार्यक्रम सञ्चालन गरेकी छन् । उनलाई निकै मतदाताको समर्थन प्राप्त छ । यस कार्यक्रममा तीन रूपैँयामा दिउँसोको खाना पाइन्छ ।

गत वर्षको आम निर्वाचनमा उनले विद्युतीय ब्लेन्डर, बोका तथा सुन जस्ता उपहार बाँडी ठूलो समर्थन कमाएकी थिइन् ।

जयललिता जयारामको एआईएडीएमके पार्टी भारतको राष्ट्रिय संसदमा तेस्रो ठूलो दलको रूपमा रहेको छ । उनी प्रधानमन्त्री नरेन्द्र मोदीका नजिक मानिन्छिन् । सपथग्रहणको समयमा भारतीय जनता पार्टीका निकै नेताहरू पनि उपस्थिति थिए ।

उनका प्रतिद्वन्द्वी राजनीतिज्ञहरूले यस राज्यमा सन् १९९६ मा उनीविरुद्ध भ्रष्टाचारको आरोप लगाएका हुन् ।

त्यस समयमा प्रहरीले उनको घरमा छापा मारी २८ किलोग्राम सुन, ७५० जोर जुत्ता तथा १० हजार सारी नियन्त्रणमा लिएको थियो ।

सरकारी वकिलहरूले उनका दुई वटा एक हजार एकडका जमिन नै उनको आयभन्दा निकै धेरै भएको आरोप लगाएका छन् । उनी सन् १९९१ देखि १९९६ सम्म पहिलोपटक मुख्यमन्त्री भएकी थिइन् । जयललिता पाँचौ पटक मुख्य मन्त्री बनेकी हुन् ।

प्रतिक्रिया