गोरखाको ७५ स्वास्थ्य संस्था ध्वस्त

गोरखाबजार, ९ जेठ । हालै गएको विनाशकारी भूकम्पले जिल्लाभरका ८३ मध्ये ७५ वटा स्वास्थ्य संस्था क्षतिग्रस्त छन् ।

औषधि तथा अन्य उपचार सामग्रीसमेत पुरिएपछि उपचार सेवा प्रभावित भएको जिल्ला स्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए ।

उनका अनुसार कतिपय स्वास्थ्य चौकीले भने गाविसको भवनमा रहेर सेवा प्रवाह गरिरहेका छन् ।

कतिपय अझै खुल्न सकेका छैनन् । बाहिर जिल्लाबाट आएका स्वास्थ्यकर्मीको टोलीले शिविर सञ्चालन गरेर उपचार सेवा दिइरहेको उनले बताए ।

अहिलेसम्म क्षतिको विस्तृत विवरणसमेत आउन सकेको छैन ।

बारपाक गाविसभन्दा माथिका लाप्राक, गुम्दा, उहिया, लापु, केरौंजा, कासीगाउँ, सिर्दिबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो, सामागाउँ गाविसको अवस्था अझै नआएको उनले बताए ।

मोटरबाटो नभएका ती गाविसमा गोरेटो र घोडेटो बाटो समेत पहिरिएर औषधि ढुवानीमा समस्या भएको छ ।

काम विशेषले सदरमुकाम आएका स्वास्थ्यकर्मी फर्कन सक्ने अवस्था पनि नभएको उनले बताए ।

प्रतिक्रिया