किडनी फाउन्डेसनद्वारा स्वास्थ्य शिविर

काठमाडौं, ८ जेठ । नेपाल किडनी फाउन्डेसनले भूकम्प प्रभावित दोलखा जिल्ला भीमेश्वर नगरपालिका–९ मा निःशुल्क स्वास्थ्य शिविर तथा राहत वितरण गरेको छ ।

देश विदेशका स्वयंसेवक चिकित्सक तथा दातृनिकायको सहयोगमा विसुन्टोल निमाविमा आयोजित सो शिविरमा ४१५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण तथा २३५ परिवारलाई दैनिक उपभोग्यका वस्तु वितरण गरिएको संयोजक गणेश उप्रेतीले जानकारी दिए ।

यसैगरी फाउन्डेसनले काभ्रेपलाञ्चोकको कोसीदेखा गाविसमा संस्थाका प्रमुख सल्लाहकार नीलकण्ठ उप्रेतीको नेतृत्वमा निःशुल्क स्वास्थ्य शिविर तथा भूकम्पपीडितका लागि कम्बल, त्रिपाल तथा राहत वितरण कार्यक्रम सञ्चालन गरेको छ ।

गत वैशाख १२ गतेको भूकम्पपछि उक्त संस्थाले काभ्रेको बाँसखर्क गाविस तथा काठमाडौं, धादिङ, नुवाकोट र पर्वत जिल्लामा स्वास्थ्य शिविर तथा राहत वितरण गरिसकेको छ ।

काठमाडौंको सेतोपुल र छाउनी ब्यारेक तथा ललितपुरको बुङ्मतीमा पनि भूकम्प प्रभावितका लागि निःशुल्क स्वास्थ्य परीक्षण गरिएको उनले बताए ।

प्रतिक्रिया