भूकम्पपीडितलाई झाडापखाला

गजुरी (धादिङ) । भूकम्पपीडितलाई झाडापखाला सुरु भएर थप समस्या देखिएको छ । उनीहरुलाई रुघाखोकी लाग्न थालेको छ भने बस्ने ठाउँ नै नभएपछि एउटा गाउँका बासिन्दा सदरमुकाममा आइपुगेका छन् ।
धादिङको उत्तरी क्षेत्रस्थित लापा गाविसमा गाउँवासी त्रिपालमुनि बसेर गुजारा गर्दागर्दै उनीहरूमा झाडापखालाको प्रकोप बढेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
जिल्ला स्वास्थ्य प्रमुख जीवनकुमार मल्लका अनुसार प्रकोप प्रभावित क्षेत्रमा औषधि र थप स्वास्थ्यकर्मी हेलिकोप्टरबाट पठाइसकिएको छ । यता लापा गाविसको तेनचेतका ५७ घरमध्ये ५१ घर सदरमुकामनजिकै विस्थापित भएर आइपुगेका छन् । साङोषमा आएका उनीहरू त्रिपाल हालेर बसिरहेको साङोषका कृष्ण शिशिरले जानकारी दिए ।
विस्थापित बसेको क्षेत्रमा पनि स्वास्थ्य र सरसफाइ तथा सुरक्षाको चिन्ता बढेको छ । सो स्थानमा सहयात्री समाजले स्नेह केन्द्र सञ्चालन गर्ने जनाएको छ । (सौस)

प्रतिक्रिया