रापती समाजद्वारा पत्रकार गिरीलाई जस्तापाता सहयोग

Kuber-Giri-3काठमाडौं, ५ जेठ । रापती समाज काठमाडौंले वैशाख १२ गतेको भूकम्पमा परी घरबार गुमाउन पुगेका रङ पत्रकार कुबेर गिरीलाई जस्तापाता सहयोग गरेको छ ।

दाङ–काठमाडौं पत्रकार समाजको आग्रहमा रापती समाजले पत्रकार गिरीलाई आज (मंगलबार) दुई बन्डल जस्तापाता सहयोग गरेको समाजकी कोषाध्यक्ष सीमा पुरीले जानकारी दिइन् ।

उनले समाजको सानो सहयोगले पत्रकार गिरीलाई धेरै राहत मिल्ने अपेक्षा आफूहरूले लिएको बताइन् । पत्रकार गिरी ‘हिमालय टाइम्स’ दैनिकसँग आवद्ध छन् ।

समाजका तर्फबाट उपाध्यक्ष सुवास केसी, कोषाध्यक्ष पुरी, पूर्णबहादुर पुरी र मीना बस्नेतसहितको टोलीले पत्रकार गिरीलाई काठमाडौंको कलंकीमा जस्तापाता हस्तान्तरण गरेको हो ।

वैशाख १२ गतेको भूकम्पले रङ पत्रकार गिरीको काठमाडौं जिल्लाको रामकोटस्थित निवास पूर्ण रुपमा क्षति भएको थियो ।

‘घर भत्केर बस्न समस्या भएको थियो’, रङ पत्रकार गिरीले भने, ‘रापती समाजको सहयोगले केही राहत महशुस भएको छु ।’ उनले आउँदै गरेको वर्षाबाट परिवार जोगाउन केही भएपनि सहज हुने बताए ।

उपाध्यक्ष केसीले पनि भूकम्पबाट अति प्रभावितहरूलाई समाजका तर्फबाट सक्दो सहयोग गर्दै आएको बताए । ‘यसअघि गोरखा र काभ्रेमा पनि भूकम्पपीडितहरूलाई सहयोग गरेका छौं’, केसीले भने, ‘वास्तविक पीडितहरूलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ ।’

समाजले अति प्रभावित जिल्लाका भूकम्पपीडितहरूलाई अझै सहयोग गर्ने योजना बनाएको छ । भूकम्पपीडितको सहयोगका लागि दाङ जिल्ला निवासी हाल बेलायतमा कार्यरत मानबहादुर थापाले उपलब्ध गराएको रकमबाट गिरीलाई सहयोग गरिएको हो ।

प्रभावित जिल्लाबाट सयहोगका लागि आग्रह आए भौतिक राहत सामाग्री वितरण गर्ने योजना रहेको समाजका अध्यक्ष शशि शर्मा मजगैंयाले बताए ।

‘अति प्रभावित जिल्लाका दुर्गम गाउँका पीडितहरूलाई सहयोग गर्ने तयारीमा छौं’, उनले भने, ‘वास्तविक पीडितले राहतको आग्रह गरे तत्काल सहयोग गर्ने निर्णय समाजले गरेको छ ।’

प्रतिक्रिया