उन्नाइस वर्षपछि दुर्गममा चिकित्सक

जाजरकोट, ५ जेठ । जाजरकोट जिल्लाको खगेनकोट गाविसको दल्लीमा रहेका प्राथमिक स्वास्थ्यचौकीले वर्षैंपछि चिकित्सक पाएको छ ।

अहेवको भरमा चल्दै आएको यहाँको स्वास्थ्यचौकीले अहिले चिकित्सक विभान्त शाहलाई पाएपछि स्थानीयवासी खुसी भएका छन् ।

चिकित्सक दुर्गम ठाउँमा गएर काममा खटिएपछि खगेनकोट, लहँ, डाँडागाउँ, छिमेकी जिल्ला रुकुमको आठविसकोट, आठविसडाँडागाउँ, सक्लालगायत गाविसका स्थानीयवासी लाभान्वित हुने नेपाली कांग्रेस जाजरकोटका सदस्य विनबहादुर सिंहले बताए ।

विनाशकारी भूकम्पका कारण यहाँको स्वास्थ्यचौकी भत्किएपछि उपचार गर्न मुस्किल भएको छ ।

आइतबारदेखि खुला चौरमा बिरामीको उपचार सुरु गरिने चिकित्सक शाहले जानकारी दिनुभयो ।

विसं २०५४ मा स्थापना भएको स्वास्थ्य संस्थामा स्रोतसाधनको अभावमा उपचारमा समस्या हुने गरेको चिकित्सकको भनाइ छ ।

यो स्वास्थ्य संस्थामा ल्याबसहितको सेवा दिने भने पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया