काठमाडौं । महाभूकम्पबाट घरबार गुमाएका पीडितका लागि अस्थायी घर बनाउने अभियानमा युवा फिल्मकर्मी एकजुट भएर लागेका छन् । उनीहरूले शुभारम्भ गरेको ‘हामी सबैका लागि’ भन्ने अभियानमार्फत संकलित रकमले काभ्रेको रामपुर डाँडामा अस्थायी घर बनाउने अभियान सुरु गरेका छन् ।
अभियानका संयोजक सुरेशदर्पण पोखरेलका अनुसार उनीहरूले रामपुर डाँडामा ४० वटा अस्थायी घर बनाउने छन् । अभियानअन्तर्गत विभिन्न फिल्मकर्मीबाट करिब सात लाख रुपैयाँ रकमबाट पूर्ण रूपमा ध्वस्त ती घरहरूको विकल्पमा अस्थायी घर बनाउन लागिएको पोखरेलले बताए । पोखरेलले चार लाख रुपैयाँ अन्य फिल्मकर्मीले दिने प्रतिबद्धता जनाइसकेको उल्लेख गरे ।
रामपुर डाँडामा नायक जीवन लुइँटेल, दीलिप रायमाझी, नायिका केकी अधिकारी, वेनिशा हमाल, सुरक्षा पन्त, वर्षा शिवाकोटी, निर्देशक सुरेश दर्पण पोख्रेलसहित करिब २० जना फिल्मकर्मीको टोली घर बनाउन व्यस्त छ । उनीहरूका अनुसार एक सातामा अस्थायी घर तयार हुनेछ । (सौस)
प्रतिक्रिया