काठमाडौं । पछिल्लोसमय ‘मायाको फूल टिपी सिउरी दिउँकी मायालु’ गीतमार्फत चर्चामा रहेका गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईले इलामकी सुमित्रा राईसँगको ६ वर्षे लामो प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेका छन् । भुवनले उदयपुर बसाहास्थित सवाली टोलमा रहेको घरमा गत शनिबार सुमित्रालाई भित्र्याएका हुन् ।
इलाम,लक्ष्मीपुरकी सुमित्रा सन् २००७ देखि अमेरिका बस्दै आएकी छन् । भुवनका अनुसार उनको र सुमित्राको भेट ६ वर्षअघि कार्यक्रमको सिलसिलामा इटहरीमा भएको थियो । त्यो भेटमा टुसाएको उनीहरूको प्रेमले अहिले पूर्णता पाएको हो । सुमित्रा भुवनकी फ्यान पनि हुन् ।
०६० सालमा ‘तिम्रो माया’ नामक आधुनिक एल्बम ल्याएर गायनमा डेब्यु गरेका भुवनले चार सोलो एल्बम ल्याइसकेका छन् । दोस्रो एल्बम ०६५ मा ‘सजेसन’ निकालेपछि एकाएक चर्चामा आएका भुवनले संगीतकार आलोकश्रीसँग सहकार्य गर्दै तेस्रो एल्बम ‘मायाको फूल’ बजारमा ल्याएका थिए । जुन एल्बमका गीत निकै चर्चित भएको थियो ।
पछिल्लो समय ‘बदनाम’ नामक चौथौ एल्बम ल्याएका उनी अब ‘सम्मान’ ल्याउने तयारीमा छन् । ‘सम्मान’ एल्बमको तयारीसँगै विभिन्न कन्सर्टमा व्यस्त भुवन नेपाल र भारतका केही स्थानमा हनिमुन मनाएर पुनः सांगीतिक कार्यमा फर्कने योजनामा छन् । (सौस)
प्रतिक्रिया