भूकम्पले तर्सिए बलिउडकर्मी

Sonakshiकाठमाडौं । नेपालमा मंगलबार गएको ७ दशमलब ३ रिक्टरको भूकम्पबाट बलिउडकर्मीहरू तर्सिएका छन् । विभिन्न स्थानमा रहेका उनीहरूले ट्वीटरमार्फत भूकम्पले दिएको त्रासमय रूपमा ट्वीटेका छन् ।
बलिउड अभिनेत्री तपसी पन्नुले नेपालमा गइरहेको भूकम्पप्रति चिन्ता व्यक्त गर्दै ट्वीटरमा ‘हुँदैन, नेपालमा फेरि नहोस्, यो निकै दुःखदायी कुरा हो, किन यस्तो ठूलो आपत एउटा मात्र देशमा हुन्छ ?’ भन्दै ट्वीटेकी छन् ।
त्यस्तै अभिनेत्री परिणती चोपडाले मुम्बईमा फेरि भूकम्पको कम्पनको महसुस गरेको ट्वीटेकी छन् । फिल्म ‘उड्ता पञ्जाब’ को सुटिङका लागि अमृतसारमा रहेका अभिनेता साहिद कपुरले ‘अमृतसरमा ठूलो कम्पन गएको’ भन्दै ट्वीटेका छन् ।
सबैजना कुशलै रहेको अनुमान लगाउँदै अर्की अभिनेत्री सोनाक्षी सिन्हाले ‘आफूले दिल्लीमा भूकम्प गएको थाहा पाएको’ उल्लेख गरेकी छन् । संगीतकार इशान नोरानीले भूकम्प निकै दुःखदायी र आतंकित हुने जनाउँदै ‘भगवान् अर्को नहोस्’ भन्दै ट्वीटरमा पोस्ट गरेका छन् ।
गायक मिका सिंहले ‘पृथ्वी आमाले हामीलाई केही कुरा भनिरहेकी छन्, हामी उहाँको कुरालाई सुनेर सम्मान गर्नुपर्छ, नेपालमा अर्को कम्पन, आशा छ सबै जनता सुरक्षित छन्’ भन्दै ट्वीटेका छन् । यस्तै अभिनेत्री सेलिना जेटलेले पनि नेपालमा गएको अर्को भूकम्पले आफू दुःखी बनेको ट्वीटेकी छन् ।
अभिनेता अजय देवगनले आफूले भूकम्प गएको सुनेको हुनाले नेपाल र भारतका जनता सुरक्षित रहने आशा व्यक्त गरेको ट्वीटरमा उल्लेख गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया