काठमाडौं । महाभूकम्पबाट पीडित बनेका नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, ललितपुर, भक्तपुर, काठमाडौंलगायतका जिल्लामा पहिलो चरणको राहत वितरण गरेका चर्चित कमेडियन जोडी सीताराम कट्टेल ‘धुमुर्स’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अब अस्थायी टहरा र चर्पी निर्माणको अभियानमा जुटेका छन् । नेपालम विपत्ति परेको थाहा पाएपछि अमेरिकाको दुई महिने कार्यक्रम रद्द गरेर स्वदेश फर्किएका उनीहरू भूकम्प प्रभावित क्षेत्रलाई स्वच्छ र सफा राख्ने अभियानमा जुटेका हुन् ।
सीतारामका अनुसार अभियानका लागि अमेरिकामा रहेका नेपालीले १६ हजार पाँच सय रकम जुटाइसकेका छन् । ‘भूकम्पपीडितका लागि मात्रै हामीसँग सहकार्य गर्ने हाम्रो कार्यक्रमका आयोजक वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्टेन्ड (एलएलसी), अमेरिका, नर्वे, कतार, दुबईका नेपालीप्रति हामी सहराना गर्छौं, अमेरिकाबाटै हामीलाई भूकम्पपीडितहरूका लागि भनेर थप एक हजार नौ सय ६३ डलर प्राप्त भएको छ । नर्वे, कतार, दुबईबाट पनि हामीलाई ५० हजार ८ सय प्राप्त भएको छ,’ उनले भने, ‘यो सबै रकम हामी भूकम्पको चपेटामा परेका नेपाली दाजुभाइ दिदीबहिनीको गाउँ–वस्तीमा पुगेर राहतका साथै चर्पी निर्माण गर्ने कार्यमा खर्च गर्नेछौँ । हाम्रो यो अभियानमा विगतका दिनमा जस्तै सबैको सहयोग र सद्भावको अपेक्षा गरेका छौँ ।’
अभियानमा टेलिफिल्म ‘भद्रगोल’ का कलाकारहरू अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, हरि निरौला ‘कक्रोज’ र ‘मेरी बास्सै’ टिमसँगै सामाजिक सञ्जाल सगुन डटकम, गणेशमान सिंह मेमोरियल हस्पिटल, जीवन विज्ञानले सहकार्य गरेको छ । धुमुर्स र सुन्तलीले चर्पी अभियानमा सहयोग गर्न सिमेन्ट र जस्तापाता उद्योगहरूसँग अपिल गरेका छन् । (सौस)
प्रतिक्रिया