काठमाडौं । बालाजुको होली गार्डेन स्कुलबाट एसएलसी दिएर बसेकी निकिता लामालाई महाभूकम्पले पहिलोपटक उपत्यकाबाहिर निस्कने अवसर जुटाइदियो । टेलिभिजन र पत्रपत्रिकामा उपत्यकाबाहिरका खबर पढ्दै र हेर्दै आएकी उनले महाभूकम्प पीडितका लागि राहत बाँड्न गाउँ पुग्दा त्यहाँको अवस्थालाई नजिकबाट नियालिन् ।
सिजन मिडियाद्वारा आयोजित ‘एसएलसी प्रिन्सेस २०१५’ प्रतियोगिताकी सहभागि निकितासहित ५० भन्दा बढी विद्यार्थीले हालै काठमाडौं र सिन्धुपाल्चोकको सिमाना छापभञ्ज्याङका भूकम्पपीडितलाई आफैँले संकलन गरेको राहत वितरणमा सहभागी भएर पीडितको वास्तविकतालाई नजिकबाट नियाले । ‘सहरबाट नजिक रहेर पनि यो गाउँमा यस्तो समस्या रहेछ, हामीले त सोचैकै थिएनौँ । थोरै भए पनि सहयोग गर्न पाइएकामा खुसी लागेको छ,’ निकिताले भनिन् ।
निकिताजस्तै परीक्षाफलको प्रतिक्षामा रहेकी विजेश्वरी ज्ञान मन्दिर, सैनिक महाविद्यालयकी प्रमिला श्रेष्ठलाई भूकम्पपीडितको वास्तविक अनुहार देखेपछि भूकम्पको थप त्रासदी महसुुस भयो । यहाँका ५० बढी घरलाई राहत वितरण भइरहँदा मंगलबार ६ दशमलब ८ रिक्टर स्केलको अर्काे भूकम्पले धक्का दिएको थियो । राहत लिने लाइनमा बसेका र वितरणका लागि आफ्नो पालो लिएर बसेका एसएलसी प्रिन्सेजको भागाभाग भयो । अघिल्लो भूकम्पमा भत्किएका केही घर आँखै अगाडि ढले, धूलो र छारो उडेको थियो ।
‘मुलुक विपत्तिमा परेको अवस्थामा हामीले पनि केही सहयोग गर्न पायौँ, अर्काे भूकम्प आए पनि धन्न बचियो, एकछिन काठमाडौं सम्पर्क भएन तर पीडितका बीचमा रहेकाले उनीहरूलाई हेरेर चित्त बुझाइयो,’ प्रमिलाले भनिन् ।
ती ५० विद्यार्थीको चन्दा र सो संस्थाको सहयोगमा यहाँका ५० घरलाई राहत वितरण गरिएको यिथो । प्रतिघर १५ किलो चामल, दुई किलो नुन, एक किलो दाल र एक लिटर तेल तथा लत्ताकपडासहितको सामग्री प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष प्रदिपराज वन्तले सहभागीहरूलाई राहत वितरण कार्यक्रम एउटा शैक्षिक ज्ञानका साथै सहयोगी भावना उत्प्रेरणा होस् भन्ने हेतुले गरेको बताए ।
प्रतिक्रिया