काठमाडौं । महाभूकम्प गएदेखि गाउँगाउँ पुगेर पीडितलाई विभिन्न किसिमका राहत प्रदान गर्दै आएको चर्चित फिल्म व्यानर दुर्गिस फिल्मस्ले सन्त निरंकारी मण्डलसँग सहकार्य गर्दै प्रधानमन्त्री दैविक उद्धार कोषमा सोमबार पाँच लाख रुपैयाँ जम्मा गरेको छ । ‘सायद’ र ‘होस्टेल’ जस्ता हिट फिल्म दर्शकलाई दिइसकेको यो ब्यानरको अर्को फिल्म ‘होस्टेल रिटर्नस’ प्रदर्शनको लागि तयारी अवस्थामा रहँदा महाभूकम्प आएपछि फिल्मको प्रदर्शनलाई पर सार्दै राहत वितरणमा सक्रिय गराएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सन्त निरंकारी मण्डल नेपालका प्रमुख नरबहादुर रावल, सचिव अनिल महर्जन, उपाध्यक्ष कृष्ण पन्त, दुर्गिस फिल्मसका निर्माता सुनिल रावलले प्रधानमन्त्री सुशील कोइरालाका जनसम्पर्क सल्लाहकार मृदुला कोइरालालाई चेक हस्तान्तरण गरेका थिए । ‘हामी सहयोगी भावनाका साथ अगाडि बढ्दैछौँ, सेवाको साथ नै अगाडि बढ्ने पनि छौँ, हिजो, आज र भोलि हामी यस दैविक विपत्तिमा परेका जनहरूलाई सहयोग गर्नेछाँै ।’ चेक हस्तान्तरणपछि मण्डलका अध्यक्ष रावलले भने । निर्माता रावलले विपत्को बेला युवा जोश र जाँगर कायम गर्दै निराश नभई काम गर्न आग्रह गरेका थिए ।
निर्माता रावलका अनुसार महाभूकम्प गएपछि उपत्यकाका नाग्लेभारे, काभ्रेस्थली, रामकोटलगायतका विभिन्न ठाउँमा गएर राहत वितरण गरिसकेको छ । यो ब्यानरले सन्त निरंकारी मण्डल नेपालसँग सहकार्य गर्दै गत सोमबार करिब २१ लाख बराबरको राहतसामग्री ललितपुर जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेको थियो ।
‘हामीले सोमबार नै भक्तपुरको सुडाल गाविसमा ३६ ओटा त्रिपाल, गोदावरीको कोट गाविसमा दुई सय थान त्रिपाल र ब्ल्याङकेन्ट वितरण गरिसकेका छौँ,’ रावलले भने, ‘हामी सहयोग र राहत वितरणमा नै लाग्नेछौ, मंगलबार काभ्रेको बिकट गाउँमा जाने र बुधबार कुरिनटारको चेपाङवस्तीलगायत गोर्खासम्म पुग्ने योजना बनेको छ ।’
यसैबीच दुर्गिस फिल्म्सले फिल्मका प्राविधिकको छाता संगठन नेपाल चलचित्र प्राविधिक संघलाई ३० थान त्रिपाललगायतका राहतसामग्री हस्तान्तरण गरेको छ । अधिकांश प्राविधिका घरहरू भूकम्पका कारण क्षतिग्रस्त बनेका छन् भने केहीको घर चर्किएकाले बस्नलायक छैनन् । (सौस)
प्रतिक्रिया