काठमाडौं । नेपाली पप संगीतमा पप सम्राटका रूपमा चिनिएका गायक ओमविक्रम विष्टले नेपालका महाभूकम्पपीडितको सहयोगार्थ दार्जिलिङमा आयोजना गरिएको कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिएका छन् । तीस वर्षपछि नेपाली भाषीको बस्ती रहेको दार्जिलिङ पुग्दा उनी जति खुसी थिए, त्यो भन्दा अझ बढी पीडितलाई सम्झिदै आफ्ना गीत प्रस्तुत गरे ।
दार्जिलिङको प्रसिद्ध सांगीतिक टोली दार्जिलिङ कार्निभलको सांगीतिक टोलीसँग सहकार्य गर्दै उनले आफ्ना कर्णप्रिय गीत सुनाएका थिए । त्यहाँ चलेको तीन दिने ‘ओल्ड इज गोल्ड सांगीतिक कार्यक्रम’मा ओमले चर्चित गीतहरू ‘म मौनतामा…’, ‘फुटेको भाग्यमा जोडिने…’, ‘सुनचाँदी भन्दा महँगो…’ र ‘देखे सपना मिठा मिठा…’ गाउँदा दर्शक मोहित बनेका थिए । ओमले दार्जिलिङकी चर्चित गायिका डेजी बराइलीसँग मिलेर ‘योवन त्यसै बितिजाला…’, ‘यो ज्यान केलाई मेरी मायालु…’ जस्ता गीत गाएर दर्शकलाई नचाएका थिए । गीत गायनसँगै ओमले सम्मान पनि पाएका थिए ।
कार्यक्रममा स्थानीय गायक देवनारायण प्रधान, रजनी गुरुङ, राजेश खालिङ, अश्विन राई, प्रकाश लकान्द्री, स्वेता सोनाम, रोमिका राई र हेमराज राईले पनि नेपाली तथा हिन्दी गीत गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए । कमेडियन महेन्द्र बागदासको कमेडी पनि कार्यक्रममा कम रोचक थिएन ।
‘दार्जिलिङको कार्यक्रम निकै रमाइलो रह्यो, भूकम्पपीडितको सहयोगार्थ रकम संकलन गर्न आयोजित उक्त विशेष कार्यक्रममा सहभागिता जनाउन पाउँदा म निकै गौरवान्वित भएको छु,’ ओमविक्रमले आफ्नो फेसबुकमा लेखेका छन्, ‘नेपालीहरूको दुःख र पीडालाई सान्त्वना दिन गरिएको त्यो कार्यक्रम प्रति आयोजकलाई धन्यवाद दिन चाहन्छु ।’ (सौस)
प्रतिक्रिया