भूकम्पपीडित फिल्मकर्मीलाई राहत

Manoj-KCकाठमाडौं । नेपाल चलचित्र कलाकार संघ र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले भूकम्पपीडित फिल्मकर्मीलाई खाद्यान्न राहत वितरण गरेको छ । दुई संस्थाले राजधानीमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै करिब दुई सय बोरा चामल पीडित फिल्मकर्मीलाई वितरण गरेको छ ।
संघका अध्यक्ष नवल खड्काका अनुसार दुई संस्थाको शनिबार बसेको संयुक्त बैठकले राहत वितरण गर्ने निर्णय गरेको थियो । ‘हामी गाउँमा अन्य पीडितलाई राहत वितरण गर्न गए पनि आफ्नो क्षेत्रका पीडितलाई राहत वितरण गरेका थिएनौँ’, अध्यक्ष खड्काले भने, ‘त्यसकारण हामीले मिटिङ गरेर आफ्नो क्षेत्रका पीडितलाई पनि राहत सहयोगको खाँचो भएकाले उहाँहरूलाई राहत दिएका हौँ ।’ कार्यक्रममा फिल्म क्षेत्रसँग सम्बन्धित प्राविधिक, कलाकार र पत्रकारलाई चामलको बोरा, चाउचाउ र पानी वितरण गरिएको थियो ।
समाजका तर्फबाट अर्जुन काफ्लेले आपूहरू हतारमा नेपाल आएका कारण यतैबाट पीडितलाई सहयोग अभियान सुरु गरिएको बताए । ‘हामी अझै पनि सहयोगलाई निरन्तरता दिइरहेका छौँ’, काफ्लेले भने । सन् २०१२ मा स्थापना भएको समाजको ४० देशमा शाखा छन् । समाजले हालै ललितपुरको लेलेमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
संघले जारी गरेको विज्ञप्तिमा संघले भक्तपुरको अनन्तलिंगेश्वर १० मा एक ट्रक सामान, रसुवाको गत्लाङमा एक ट्रक सामान, धादिङको धर्पु, नुवाकोटको बुढाथुममा दुई ट्रक सामान, सिन्धुपाल्चोकको हेलम्बू र तार्केघ्याममा दुई ट्रक सामान तथा इचंगुनारायण क्ष्ोत्रमा खाद्यान्नसहित अन्य सामान वितरण गरिसकेको छ ।
यस्तै, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले ललितपुरको लेलेमा घर निर्माणका लागि रोटरी इन्टरनेसनल क्लबलाई सामग्री प्रदान गरेको छ भने विभिन्न ठाउँका बालबालिकालाई कपडा पनि वितरण गरेको छ । समाजले भूकम्पबाट निसहाय र असक्षम बनेका बालबालिकालाई प्राथमिकताका आधारमा विद्यालयस्तरीय शिक्षा निःशुल्क प्रदान गराउने योजनामा समेत रहेको जनाएको छ ।
कार्यक्रममा नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले फिल्म क्षेत्रमा सबैभन्दा बढी प्राविधिक प्रभावित भएका हुनाले आफ्ना सदस्यलाई पहिलो प्राथमिकतामा राखेर राहत दिन आग्रह गरेका थिए । (सौस)

प्रतिक्रिया