काठमाडौं । आयोजक चण्डेश्वरी युवा क्लब रामेछाप र हनुमन्ते उमावि दोलखाले तेस्रो चण्डेश्वरी रनिङ कप खुला महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । रामेछापको रस्नालु गाविसस्थित गोकुल गंगा उमाविको कोर्टमा भएको
उद्घाटन खेलमा आयोजक चण्डेश्वरी युवा क्लबले महिला सञ्जाल रामेछापलाई २५–९ र २५–८ को सोझो सेटमा पराजित ग¥यो । आयोजककी कृपा अधिकारी वुमन अफ द म्याच भइन् ।
दोस्रो खेलमा हनुमन्ते उमावि दोलखाले जनजागृति माविलाई २५–१२ र २५–४ को सोझो सेटमा हरायो । हनुमन्ते उमाविकी मनिसा घिसिङ वुमन अफ द म्याच भइन् । १५ वैशाखदेखि निर्धारित प्रतियोगिता महाभूकम्पका कारण २७ वैशाखदेखि सुरु भएको हो । प्रतियोगितालाई गोकुल गंगा उमावि रस्नालुले एक लाख १५ हजारको मुख्य प्रायोजन गरेको छ ।
जयप्रकाश सुनुवारले सहप्रायोजनका लागि ५१ हजार रुपिया उपलब्ध गराएका छन् । रनिङ सिल्ड उपलब्ध गराएको प्रतियोगिता संयोजक जगतबहादुर सुनुवारले जनाएका छन् । प्रतियोगितामा उपाधि विजेता टोलीले ५१ हजार पाँच सय प्राप्त गर्नेछ । त्यसैगरी, उपविजेता टिमले २५ हजार पाँच सय, तेस्रोे टिमले १५ हजार पाँच सय र चौथोले आठ हजार पाँच सय प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले तीन हजार र विद्यागत उत्कृष्टमा स्पाइकर, सेटर, सर्भर, क्विकर, ब्लकर र डिफेन्सले जनही एक–एक हजार रुपैयाँ पाउनेछन् । चण्डेश्वरी युवा क्लब, रामेछाप काठमाडौं सम्पर्क समितिको आयोजनामा २९ वैशाखसम्म सञ्चालन हुने प्रतियोगितामा सात टिमले प्रतिस्पर्धा गर्नेछन् ।
न्यू डायमन्ड एकेडेमीका संस्थापक प्रिन्सिपल एवं प्रशिक्षक कुमार राई, जागृति उमाविका प्राचार्य गोविन्द खत्रीले प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा प्रशिक्षक राई र परिषद्का अधिकृत दुर्गा दुलाललाई सम्मान गरिएको थियो । चण्डेश्वरी युवा क्लबका अध्यक्ष मनबहादुर खत्रीको सभापतित्वमा सम्पन्न भएको थियो । उद्घाटनका अवसरमा महाभूकम्पमा परी ज्यान गुमाउनुभएका भलिबलका मुख्य प्रशिक्षक स्व. केशवलाल श्रेष्ठ र गोरखापत्र संस्थानका खेल पत्रकार सुमन बम्जनको सम्झनामा मौनधारण गरिएको थियो । (सौस)
प्रतिक्रिया