काठमाडौं । ग्ल्यामर क्षेत्रलाई छिट्टै चर्चामा आउने क्षेत्र भनेर चिनिन्छ । कुनै सेलीब्रेटी आफूलाई चाँडै नै चर्चित बनाउन कि त केही स्क्यान्डल गर्छन् या त कुनै नयाँ काम गर्छन् । प्रख्यात अमेरिकी अभिनेत्री जुली बोवेन गत बिहीबार आफ्ना तीन सन्तानका साथ लसएन्जल्समा कागती बैच्दै गरेको अवस्थामा भेटिइन् । तर, उनको त्यो काम भने चर्चामा आउनकै लागि पक्कै थिएन । गत वैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पमा परी पीडित बनेका लागि रकम संकलन गर्न उनले कागती पानी बेचेकी हुन् ।
प्रायः हट र ग्ल्यामर लुक्समा प्रस्तुत हुने ‘मोर्डन फेमिली’ स्टार कागती बेच्दा भने निकै सामान्य अवस्थामा विनामेकअप देखिएकी थिइन् । घामबाट जोगिन शिरमा ठूलो ह्याट लगाएकी ४५ वर्षीया अभिनेत्री ‘लेमोनएड फर नेपाल’ लेखिएको प्लेकार्ड बोकेर आफ्नो पसल अगाडि उभिएकी थिइन् ।
अभिनेत्रीले आफू र सन्तानसहित नेपालका भूकम्पपीडितका लागि रकम संकलन गर्न पाउँदा खुसी लागेको बताइन् । स्टाइल कास्टरका अनुसार जुली टेलिभिजनमा सर्वाधिक बढी रकम लिने सेलिब्रेटीको सूचीमा पर्छिन् । उनले प्रतिएपिसोड १९ हजार डलर पारिश्रमिक लिन्छिन् ।
जुली र उनका श्रीमान् स्कट फिलिप्सको आठ वर्षे सन्तान ओलिभर म्याकलाहान र जुम्ल्याहा छोरा जोन र गुस्तभ छन् जो चाँडै नै ६ वर्षका पुग्दै छन् । (सौस)
प्रतिक्रिया