दुई फिल्मको च्यारिटी सो

everestकाठमाडौं । नेपालमा गएको विनाशकारी महाभूकम्पमा परेका पीडितको सहयोगार्थ दुई हलिउड फिल्म ‘हाइवे टु धम्पुस’ र
‘एभरेस्ट’को च्यारिटी सो हुने भएको छ । यी दुवै फिल्म नेपालसँग सम्बन्धित छन् ।
समाचारअनुसार रिक म्याक फरल्यान्डले निर्देशन गरेको फिल्म ‘हाइवे टु धम्पुस’को आगामी बुधबार र बिहीबार अमेरिकामा च्यारिटी सो हुँदै छ । निर्देशक फरल्यान्डले च्यारिटीबाट उठेको सबै रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने बताए । यो फिल्म नेपालमा जेठ २९ मा रिलिज हुने भने पनि भूकम्पका कारण रिलिज डेट सारेको छ ।
एक अनाथ युवतीको नेपाल यात्रालाई समेटिएको फिल्ममा अभिनेता राजबल्लभ कोइरालासहित राचेल हर्ड वुड, गनर राइट, सुएस राना, देशभक्त खनाल, सयुष गुरुङ बज्राचार्य, सोफी म्याकसेरा र सुनील श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् ।
त्यस्तै, सगरमाथा आरोहणका क्रममा १८ आरोहीले ज्यान गुमाएको घटनालाई प्रस्तुत गरिएको फिल्म ‘एभरेस्ट’ अमेरिकामै आगामी सोमबार र जुलाई २७ मा च्यारिटी सो गरिनेछ ।
बाल्टासार कोर्माकुरले निर्देशन गरेको फिल्ममा जेक गेनेहल, काइरा नाइटले, साम वार्थिङटोन, जेसोन क्लार्क, जोस ब्रोलिन, जोन हकिस र रोविन राइटले अभिनय गरेका छन् । (सौस)

प्रतिक्रिया