काठमाडौं, २७ वैशाख । रसुवाका तीन गाविस भोर्ले, लहरे र उपल्लो रुकसेपानीका भूकम्प पीडितलाई नेपाल कराते महासंघ र नेपाल सितोरियो कराते संघले शुक्रबार राहतसामग्री उपलब्ध गराएको छ ।
तीनवटै गाविसमा दुई सय बोरा चामल, २५ बोरा चिउरा, वाइवाइ एक सय कार्टुन, त्रिपाल दुई सय २५ थान, भाँडाकुँडा दुई सय २५ थान, १२ बोरा दाल, पानी ५० कार्टुन, पीयुष र औषधि गरी करिब ६ लाख १० हजार मूल्य बराबरको सामग्री राहत स्वरूप वितरण गरिएको कराते महासंघ तथा सितोरियो संघका अध्यक्ष दावा गुरुङले जनाएका छन् ।
भार्ले र लहरेमा दावासहित महासंघका सदस्य राजेश अधिकारी, सितोरियो संघका सदस्य राम थारू, रसुवा जिल्ला कराते संघका पदाधिकारी, खेलाडीलगायतले राहत वितरण गरेका थिए । त्यस्तै उपल्लो रुकसेपानीका पीडितका लागि सम्बन्धितलाई हस्तान्तरण गर्ने त्यहाँको स्थानीय समितिलाई प्रदान गरिएको बताइएको छ ।
यसैबीच, नेपाल गल्फ संघको अगुवाइमा विभिन्न जिल्लाका भूकम्प पीडितलाई राहतका रूपमा त्रिपाल र कम्बल वितरण गरिएको छ । संघका शुभेच्छुकबाट संकलित रकमबाट संघले एक हजार थान त्रिपाल र एक हजार थान कम्बल खरिद गरी पीडितलाई वितरण गरेको हो ।
अमेरिकाको टेक्सस राज्यस्थित गल्फ इन स्कुल्सका सञ्चालक आरोन बर्गम्यानबाट प्राप्त चार हजार अमेरिकी डलर र घले ब्रदर्सबाट प्राप्त सात लाख ५० हजारबाट राहतसामग्री खरिद गरिएको र नपुग रकम संघको आन्तरिक श्रोतबाट बेहोरिएको संघका महासचिव टासी घलेले बताए ।
संघका महासचिव घलेको नेतृत्वमा, कोषाध्यक्ष किसन अग्रवाल, नेपालका नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठ, अर्का व्यावसायिक गल्फर दीपक थापामगरको टोलीले शुक्रबार काभ्रेको ढुंखर्क गाविसका पीडितलाई त्रिपाल र कम्बल वितरण गरेको छ । टोलीले पीडितलाई दुई सय ५२ थान त्रिपाल तथा ढुंखर्क स्वास्थ्यचौकी र मुक्तेश्वर महादेव वृद्धाश्रमलाई दुई सय थान कम्बल वितरण गरेको थियो । संघले तत्काल गोरखा, रसुवा, नुवाकोट र ललितपुरमा गरी त्रिपाल र कम्बल वितरण गर्ने महासचिव घलेले जानकारी गराए ।
गल्फ खेलाडी र क्याडी भूकम्पबाट पीडित भएको खण्डमा रोयल एन्ड एन्सेन्टले सहयोग गर्ने बताउँदै महासचिव घलेले पीडितलाई संघमा सम्पर्क गर्न अनुरोध गरेका छन् । उनले भने, सबै संघहरू लागिपरेको खण्डमा पीडित खेलाडीलाई सहयोग गर्न सहज हुन्छ । त्यसो हुँदा सानो कामका लागि सरकारको मुख ताक्नु पर्ने अवस्था रहन्न ।
घलेले कोरिया गल्फ संघ र चीन गल्फ संघमार्पत भूकम्प पीडितलाई त्रिपालको पहल गरिने बताए । उनले थपे, अहिलेको मुख्य आवश्यकता भनेको त्रिपाल नै देखिएको छ । पीडितलाई त्रिपाल मात्र पठाउन सके पनि ठूलो राहत पुग्नेछ ।
प्रतिक्रिया