काठमाडौं । गत वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पबाट नाट्य कलाकार करिना खत्रीको निधन भएको छ । चारुमती अंग्रेजी स्कुलमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीया करिनाको भूकम्पमा परी निधन भएको शैली थिएटरले पुष्टि गरेको छ ।
थिएटरले राजधानीमा आयोजना गरेको ‘छैटौँ राष्ट्रिय बाल नाटक महोत्सव २०७१’ मा करिनाले नाटक ‘वैमानी काल’ बाट ‘बाल कोसेली सर्वोत्कृष्ट अभिनय पुरस्कार’ जितेकी थिइन् । करिना राजधानीको सिफलमा बस्थिन् ।
नाटकका लेखक सागर हुमागाईंले कलाकारको निधनले आफू स्तब्ध भएको बताएका छन् । ‘हामीले एउटा असल प्रतिभाशाली कलाकार गुमाएका छौँ,’ हुमागाईंले भने, ‘उनको अभिनय क्षमता निक्कै परिपक्व थियो ।’
महोत्सवका निर्णायकमध्येका एक कृष्ण साह यात्रीले सर्वोत्कृष्ट अभिनय गर्ने कलाकारको निधनले भावुक बनाएको उल्लेख गरे । शैली थिएटरका निर्देशक नवराज बुढाथोकीले निकै सम्भावना भएको कलाकारको निधनले रंगमञ्च क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताए । (सौस)
प्रतिक्रिया