गरिबको पीडा मैले भोगेको छु : धुर्मुस

Sitaramकाठमाडौं । दुई महिने कार्यक्रमका लागि अमेरिकामा रहँदा नेपालमा महाभूकम्पको समाचार थाहा पाएपछि कार्यक्रम स्थगित गरेर स्वदेश फर्किएका चर्चित हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ यतिबेला भूकम्पपीडितलाई राहत र सान्त्वना दिन व्यस्त छन् । उनीहरूले नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, धादिङ र ललितपुरका स्थानमा गई राहत अभियान चलाइरहेका छन् ।

‘एक छाक पनि खान नपाउँदा कस्तो पीडा हुन्छ भन्ने कुरा मैले राम्रोसँग अनुभव गरेको छु । गरिबको पीडा कस्तो हुन्छ भन्ने मैले विगतमा भोगेको छु,’ भावुक हुँदै धुर्मुसले भने, ‘गरिबीको पीडा पनि मलाई राम्ररी थाहा छ, त्यसैले महाविपत्तिको बेला सकेको सहयोग गर्नु हाम्रो कर्तव्य ठानेर विभिन्न जिल्लामा राहत र उद्धारका लागि मेरीबास्सै र भद्रगोलको टोली खटेको छ ।’
धुर्मुसको टोलीले शुक्रबार ललितपुरको विकट ठाउँ ठूला दुर्लुङमा पुगेर राहत वितरण गरेको बताए । ‘हामी अहिले सगुन डटकम, गणेशमानसिंह हस्पिटल, जीवन विज्ञान समूहलगायतका संस्थाको सहकार्यमा भूकम्पपीडितलाई राहत वितरण र घाइतेहरूको उद्धार गरिरहेका छौँ,’ उनले भने, ‘नेपालमा भूकम्प आएको थाहा पाउनेबित्तिकै अमेरिकाको विभिन्न १७ वटा राज्यमा गर्ने भनिएको कार्यक्रम नै छोडेर नेपाल फर्केका हौँ ।’
सीताराम र उनकी श्रीमती कुञ्जना घिमिरे ‘सुन्तली’ एक वर्षकी काखे छोरी अरूलाई नै जिम्मा लगाएर दिनरात नभनी खाद्यान्न, पाल, ओछ्याउने म्याट, डाक्टर र औषधि लिई राहत नपुगेको स्थान पहिल्याउँदै गाउँ घुमिरहेका छन् । ‘ठूलो दुर्लुङलाई ललितपुरको कर्णाली भनेर चिनिन्छ । काठमाडौँबाट गोट्टीखेलसम्म करिब दुई घन्टाको पीच बाटो र झन्डै ३५ किलोमिटर कच्ची भीरको बाटो तीन/चार घन्टा गाडीमा हिँडेपछि मात्र पुग्न सकिन्छ,’ कुञ्जनाले भनिन्, ‘कुनबेला भीरबाट ढुंगा खस्ने हो भन्दै ज्यान नै जोखिममा राखेर आङ नै सिरिङ हुने गरी त्यो बाटो हिँड्दै दुर्लुङ पुगेर हामीले राहत वितरण गर्‍र्यौँ । राहत वितरण गरेर काठमाडौं फर्किंदा रातको तीन बजेको थियो ।’
धुर्मुसहरूसँगै त्यहाँ पुगेका कलाकार गोपाल लामा ‘कार्की दाइ’, अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिक्री’ ले धुर्मुस र सुन्तलीले खुला मनले राहत र उद्धार कार्यमा खटेको देखेर आफूहरूले पनि उनीहरूको अभियानमा साथ दिएको बताए । राहत बोकेको ट्रकको भारीमाथि बसेर ठूला दुर्लुङ पुगेका उनीहरूले पाँच सयभन्दा बढीलाई राहत वितरण गरेका थिए । ‘राहतको प्रतिक्षामा राज्य कुरेर बसेका दुर्लुङवासीले हामी राहत बोकेर पुग्दा भगवान् आए जस्तो ठाने,’ सुन्तलीले भनिन् ।
धुर्मुुसले भूकम्पपीडित जिल्लामा राहत वितरणको कार्य सकेपछि त्यहाँ उनीहरूका लागि ओछ्याउने म्याट, चर्पी र औषधिका साथै सरसफाइ अभियानलाई तिव्रता दिने बताए । ‘विभिन्न संघसंस्थासँग अस्थायी ‘चर्पी’ र तत्काल पुनर्वासको अभियानका लागि कुराकानी गरिरहेका छौँ,’ उनले भने, ‘हामी छिट्टै भूकम्प प्रभावित क्षेत्रमा अस्थायी चर्पी निर्माणको अभियान लिएर जान्छौँ ।’

प्रतिक्रिया