फिफा वरीयतामा नेपाल यथास्थानमै

पेरिस, २५ वैशाख । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेको फिफा विश्व वरीयतामा नेपाल यथास्थानमै रहन सफल भएको छ । नेपाल अघिल्लो महिनामा फिफाले सार्वजनिक गरेको वरीयतामा एक सय ८१औँ स्थानमा कायम थियो ।

दक्षिण एसियाली राष्ट्र मध्ये नेपाल वरीयतामा पुछारबाट दोस्रो स्थानमा छ । नेपालभन्दा तल श्रीलंका छ । गत महिना नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता वा खेलमा सहभागिता जनाएको थिएन ।
यस्तै फिफा वरीयतामा दक्षिण एसियाली राष्ट्र बंगलादेश र पाकिस्तान भने तल झरेका छन् । दुई स्थान तल झर्दै बंगलादेश एक सय ६९औँ स्थानमा छ । पाकिस्तान एक स्थान तल झर्दै एक सय ७३औँ स्थानमा पुगेको छ । दक्षिण एसियाली राष्ट्रमा शीर्ष स्थानमा रहेको अफगानिस्तान (१३५) तथा भुटान (१६३) र भारत (१४७) को वरीयता स्थिर रहँदा माल्दिभ्स एक स्थानमाथि एक सय ४०औँ स्थानमा उक्लिएको छ ।विश्व वरीयताको शीर्ष स्थानमा विश्व विजेता जर्मनी यथावत् नै छ ।
अर्जेन्टिना दोस्रो तथा बेल्जियम तेस्रोमा स्थानमा छन् । फिफा वरीयतामा शीर्ष १० स्थानमा कुनै परिवर्तन भएको छैन । चौथोमा कोलम्बिया, पाँचौँमा ब्राजिल, छैटौँमा नेदरल्यान्ड छन् । त्यस्तै पोर्चुगल सातौँ, उरुग्वे आठौँ, स्वीट्जरल्यान्ड नवौँ र स्पेन १० औँ स्थानमा छ ।

प्रतिक्रिया