रौतहट । रौतहटमा जारी टि–२० मैत्रिपूर्ण नकआउट क्रिकेट प्रतियोगिताको बिहीबार भएको खेलमा संचारकर्मीको टिमले एनजिओको टिमलाई सात विकेटले पराजित गरेको छ । यो जितसँगै संचारकर्मीको टिम सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्रिएटिभ ग्रुप अफ नेपालको आयोजना र ट्रान्सपरेन्सी इन्टरनेसनलको सहकार्यमा रौतहटको गौरस्थित राइस मिलको मैदानमा सुरु भएको मैत्रिपूर्ण टि–२० नकआउट प्रतियोगिताको बिहीवार भएको खेलमा टस हारेर ब्याटिङ गरेको एनजिओको टिमले निर्धारित २० ओभरमा १५१ रनको विशाल स्कोर खडा गरेको थियो । १५२ रनको लक्ष्य पाएर मैदानमा उत्रेका सञ्चारकर्मीको टिमका ओपनर ब्याट्सम्यान रोविन बस्नेतको व्यक्तिगत ८८ रनको सहयोगमा पाँच बल बाँकी छँदा नै सञ्चारकर्मीले उक्त खेल जितेका थिए ।
बस्नेतको धुँवाधार पारीबाट सेमिफाइनलमा प्रवेश गरेका सञ्चारकर्मीको टिम शुक्रबार हुने पहिलो सेमिफाइनलमा राजनीतिक दलको टिमसँग प्रतिस्पर्धा गर्ने आयोजक क्रिएटिभ ग्रुप अफ नेपालका अध्यक्ष प्रविणकुमार शर्माले जनाएका छन् । (सौस)
प्रतिक्रिया