नेपाल सम्झिएर जापानमा गुञ्जियो नेपथ्य

Nepathyaकाठमाडौं । गत वैशाख १२ गते नेपालमा गएको महाभूकम्प पीडित बनेका परिवारलाई सहयोग जुटाउन चर्चित नेपाली लोक रक ब्यान्ड ‘नेपथ्य’ ले जापानको टोकियोमा कन्सर्ट गरेको छ । केही महिनाअगावै तय भएको जापानको कार्यक्रमलाई अन्तिम समयमा रद्द गर्न नमिल्ने भएपछि नेपथ्यले कन्सर्टलाई नै ‘जनचेतना अभियान’ र यसबाट उठेको पैसालाई ‘राहत संकलन’ का रूपमा घोषणा गरेको थियो ।
कार्यक्रमको सुरुवात ‘नराम्रो सपना देखेथेँ’ बाट गरियो । त्यसपछिको ‘अभाव अभावै भयो’ र ‘जीवन हो घाम छायाँ’ गाउन्जेल मञ्चको पृष्ठ भागमा दुई साताअघि भूकम्पले ध्वस्त पारेका संरचनाहरू देखाइएको थियो । ‘हामी मनोरञ्जन होइन, समवेदना बाँड्न आएका छौँ,’ टोलीका अगुवा एवं मुख्य गायक अमृत गुरुङले टोकियोको कामदास्थित एप्रिकोट हलमा जम्मा भएका दर्शक अघिल्तिर भनिरहेका थिए, ‘भूकम्पपीडितमै समर्पित रहेको यो कार्यक्रम सम्पन्न गर्नुपर्ने दायित्व नभइदिए गाउने पटक्कै इच्छा थिएन ।’कन्सर्ट हेर्न पुगेका जापानको एनएचके टेलिभिजनका निर्माता कियोस्का साइले अमृतले गाएका गीतहरूको शब्द आफूले नबुझे पनि पृष्ठभूमिमा देखाइएको भूइँचालोको तस्बिरले गीतको भाव बुझेको बताए । कियोस्काले एनएचके टेलिभिजन सञ्जालको मुख्य च्यानल एनएचके वान र त्यसको पनि ‘प्राइम टाइम न्युज’मा करिब १५ मिनेट लामो नेपथ्यको जापान यात्रा वर्णन तयार पारेका थिए ।
आयोजक तमु धिँ, जापानका एक सदस्यका अनुसार भूइँचालोलगत्तै नेपथ्यले कुनै पनि रोमान्टिक गीत नगाउने जानकारी दिएपछि यो कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने चुनौति खडा भएको थियो । ‘तैपनि हामीले आँट गरेरै कार्यक्रममा नेपथ्यका सर्वाधिक रुचाइएका गीत नगाइने घोषणा गरिदिएका थियौँ,’ उनले भने, ‘त्यसपछि दर्शक आउलान् वा नआउलान् भन्ने चिन्ताले सताएको थियो ।’
आयोजकले बढीमा पाँच सय दर्शकको अपेक्षा गरेको कार्यक्रममा १५ सय सिट क्षमताको हल हाउसफूल बन्यो । कार्यक्रममा जापान बस्दै आएका नेपाली मात्र होइन, एक सयभन्दा बढी जापानी नागरिक, अझ उमेर पुगेका जोडी उपस्थित थिए । ‘भूइँचालोले पीडित नेपालीप्रतिको भावनाले बाँधिएर धेरै जापानी आएका छन्,’ जापानी पत्रकार तानाका कुनिहिकोले भने, ‘यो फरक संस्कृति र संगीतको स्वाद सँगसँगै एकप्रकारको मानवीय ऐक्यबद्धता पनि हो ।’
दर्शकले ‘रेशम’ र ‘तालको पानी’ जस्ता गीतको आश गरे पनि गायक अमृतले रमाइला गीत सुनाउनका निम्ति अर्कोपटक फेरि जापान आउने आश्वासन दिएका थिए । अमृतले गम्भीर र भावनात्मक किसिमका ‘टाढा धेरै टाढा, उडेका रंगीन चरा’ र ‘आमा हुन असजिलो छ’ जस्ता गीत गाएका थिए । ‘शोक परेको बेला कुनै ब्यान्डले दर्शक रुचीका गीतै गाउँदैनन् भन्ने थाहा थिएन,’ बा आमासँग जापान बस्दै आएकी दर्शक सुजा थापाले भनिन्, ‘नेपथ्यले भने यहाँ त्यस्ता गीत गाउँदैन भन्ने थाहा पाउँदा पाउँदै पनि हेर्न आएँ र चित्त बुझाएर गइरहेकी छु ।’
अमृतले ‘सरुमा रानीको आँसुको कसम’, ‘यौटा चिट्ठी’, ‘छोटो गीत’, ‘पानी तिरतिरे’ हुँदै पछिल्लो एल्बममा समेटिएको एउटा हाक्पारे भाकाको गीत पनि सुनाएका थिए । दुई घन्टा लामो कार्यक्रमको अन्त्यमा ‘गाउँ–गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्य’ गाउँदा हलभरि जताततै राष्ट्रिय झन्डा बोकेर उफ्रिरहेका दर्शक देखिन्थे । (सौस)

प्रतिक्रिया