काठमाडौं । महाभूकम्पका पीडितहरूलाई सहयोग गर्न अखिल भारतीय तेरापन्थ युवक परिषद्सँग सहकार्य गर्दै कमेडियनहरूसहितको फिल्मकर्मीको टोलीले ‘आटादेखि लोटासम्म, लाल्टिनदेखि बाल्टिनसम्म’ को अभियान सुरु गरेका छन् । अभियानको सुरुवात उनीहरूले गत बुधबार भक्तपुरको बागेश्वरीका भूकम्पपीडितमाझ गरे । उनीहरूले भूकम्पपीडितमाझ रमाइलो ढंगबाट सरसफाइ मात्र गरेनन्, सबैलाई हँसाई हँसाई महामारीदेखि सचेत रहन आग्रह गरे अनि राहत पनि बाँडे ।
उनीहरूले त्यहाँ रहेका एक सय २६ भूकम्पपीडित परिवारलाई टेन्टमा खाना पकाएर खान चाहिने डाडु, पन्यु, पकाउने भाँडाहरू, दाल, तेल, मैनबत्ती, ग्यासस्टोभ, ओछ्याउने म्याट्रेस, त्रिपाललगायतका अत्यावश्यक सामग्रीसहितको प्याकेज बाँडेका थिए । भारतबाटै परिषद्का पदाधिकारीहरूले पनि नेपाली कलाकारहरूको साथले गर्दा पीडितलाई राहतसँगै खुसी दिन सकेकोमा नेपाली कलाकारलाई धन्यवाद दिएका थिए ।
कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा ‘गैँडा’, केदार घिमिरे ‘माग्ने बुढा’, दीलिप रायमाझी, रमेश उप्रेती, झरना थापा, किरण केसी, सुरेन्द्र केसी, सुनिलकुमार थापा, अनुरागमान सिंह कुवँरलगायतका कलाकारको उपस्थिति थियो । अभियानका संयोजक बाबुराम दाहालका अनुसार यो अभियान शुक्रबारसम्म चल्नेछ । ‘हामी अन्य ठाउँ गएर पनि राहतसँगै महामारीविरुद्ध जनचेतना फैलाउने छौँ,’ संयोजक दाहालले भने । (सौस)
प्रतिक्रिया