अन्तर्राष्ट्रिय टेबलटेनिसले १० हजार डलर सहयोग गर्ने

काठमाडौं, २४ वैशाख । अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघले वैशाख १२ गतेको विनाशकारी भूकम्पपीडित नेपाली टेबलटेनिस खेलाडीलाई १० हजार अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

महासंघका अध्यक्ष थोमस वेकार्टले अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष धर्ममान वज्राचार्यलाई उक्त रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको वज्राचार्यले जानकारी गराए । वज्राचार्य २६ अप्रिल देखि ३ मेसम्म भएको विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि नेपाली टोलीको व्यवस्थापकका रूपमा चीनको सुझावमा थिए । त्यसै बेला वज्राचार्यको भेट थोमससँग भएको थियो । ११ वैशाखमा चीनको कुल्मिङ पुगेको नेपाली टेबलटेनिस टोली भूकम्प गएकै दिन १२ वैशाखमा प्रतियोगिता आयोजनास्थल सुझाव पुगेको थियो ।
‘पहिलोचोटि अप्रिल २६ मा थोमससँग भेट हुँदा पीडित टेबलटेनिस खेलाडीलाई सहयोग गर्छु मात्र भन्नुभएको थियो । ४ मेमा फेरि भेट हुँदा उहाँले रकम नै खुलाएर १० हजार अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो,’ वज्राचार्यले बताए ।
वज्राचार्यका अुसार महासंघले सहयोग रकम अखिल नेपाल टेबलटेनिस संघमार्फत पठाउनेछ । वज्राचार्यले सहयोगका लागि थोमसलाई अखिल नेपाल टेबलटेनिस संघको तर्फबाट धन्यवाद दिएका थिए ।

नेपालले तीन खेल मात्र जित्यो
विश्व टेबलटेनिस च्याम्पियनसिपमा नेपाली खेलाडीले तीन खेल मात्र जित्यो । जितेका तीनै खेल महिला सिंगल्समा रह्यो । राष्ट्रिय च्याम्पियन नवीता श्रेष्ठले भेनेन्जुएला र श्रीलंकाली खेलाडीलाई पराजित गरिन् भने रविना महर्जनले कोलम्बियाकी खेलाडीलाई हराइन् । दुवैले लिग खेलमा उक्त सफलता हात पारेका हुन् ।
३–३ पुरुष/महिला गरी जम्मा ६ खेलाडीले च्याम्पियनसिपमा नेपालबाट सहभागिता जनाएका थिए । सहभागी अन्य महिला खेलाडीमा एलिना महर्जन तथा पुरुषमा राष्ट्रिय च्याम्पियन दीप साउन, अमरलाल मल्ल र पुरुषोत्तम वज्राचार्य रहेका छन् । नेपाली खेलाडीले पुरुष/महिला सिंगल्स र डबल्स तथा मिक्स डबल्स गरी ५ स्पर्धामा सहभागिता जनाएका थिए । टोली मंगलबारै स्वदेश फर्किसकेको छ ।
यसैबीच चीनको टेबलटेनिस सामग्री उत्पादक कम्पनी डबल हेपिनेसले च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीलाई १ लाख मूल्य बराबरको खेल सामग्री र पोसाक प्रायोजन गरेको वज्राचार्यले
जनाएका छन् ।

प्रतिक्रिया