भूकम्पमा ज्यान गुमाएका खेलाडीका परिवारलाई एक लाख

1[1]काठमाडौ, २३ बैशाख । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण ज्यान गुमाएका ६ खेलाडी र एक खेल पत्रकारका परिवारलाई समान १–१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ । कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामाको अध्यक्षतामा मंगलबार त्रिपुरेश्वरमा बसेको बैठकले आर्थिक सहयोग प्रदान गर्ने विशेष निर्णय गरेको हो ।

हालसम्म उक्त विनाशकारी भूकम्पका कारण जुडोका ३, करातेका २ र क्रिकेटका १ खेलाडीको निधन भएको जानकारी प्राप्त भएको छ । जुडो खेलाडीमा नुवाकोटकात्रय अनिशा डंगोल, निलम डंगोल र नारायण तामाङ रहेका छन् । कराते खेलाडीमा तनहुँका चन्द्रकुमार श्रेष्ठ र नुवाकोटका सुरज डंगोल तथा सिन्धुपाल्चोकका क्रिकेट खेलाडी मनोज पण्डित छन् ।
खेल पत्रकारमा गोरखापत्र दैनिकका सुमन भोम्जन (मकवानपुर) छन् । खेल पत्रकार सुमनको हकमा प्राकृतिक विपद्मा परेको हुनाले पछि नजिर नरहने गरी कोषबाट आर्थिक सहयोग उपलब्ध गराउन लागिएको कोषका सदस्य–सचिव दीपक विष्टले जानकारी गराए ।
बैठकले भूकम्पबाट पूर्ण रुपमा घर क्षतिग्रस्त भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई २० हजार रुपैयाँ बराबरको राहत सामाग्री प्याकेज स्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै पछि प्राप्त हुने क्षतिका सम्बन्धमा सम्बन्धित खेलको राष्ट्रिय संघ र सम्बन्धित निकायको सिफारिश उपर नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको सिफारिश बमोजिम खेलाडी कल्याणकारी कोषको राहत रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया