काठमाडौं । युवा संघ नेपालले चितवनमा बलिउड अभिनेता अक्षय कुमारले अभिनय गरेको फिल्म ‘गब्बर इज ब्याक’ लाई प्रदर्शनमा रोक लगाएको छ । नेपालमा महाभूकम्प गएपछि अक्षयले फिल्मको पहिलो दिनको कलेक्सन भूकम्प पीडितलाई दिने भनी आएको समाचार गलत भएको अक्षयले प्रतिक्रिया दिएपछि उनको चौतर्फी आलोचना भएको थियो ।
चितवनका दुई हल गणेश चित्र मन्दिर र इन्द्रदेव हलमा यो फिल्म सोमबारबाट प्रदर्शनमा आएको थियो । फिल्म प्रदर्शनमा आएको थाहा पाएपछि मंगलबार युवा संघ नेपाल, भरतपुरले पत्र काटेर फिल्म नचलाइदिन आग्रह गरेपछि प्रदर्शन रोकिएको स्थानीय पत्रकार रवी अधिकारीले बताए ।
अक्षयले आफू फिल्मको निर्माता नभई केवल कलाकार मात्र भएकाले हामीले भूकम्पपीडितलाई सहयोग गर्नेबारे केही नबोलेको बताएका थिए । यो कुरा उनले प्रष्टयाएपछि उनी सामाजिक सञ्जालमा आलोचित बनेका थिए । युवा संघ नेपालका उपमहानगर सम्मेलन आयोजक कमिटी भरतपुरका संयोजक सुरजकुमार शाहीद्वारा हस्ताक्षरित पत्रमा भारतका नायकहरूबाट पछिल्लो समयमा दिइएको अभिव्यक्तिबाट आफूहरूलाई विक्षिप्त बनाउने काम भएकाले फिल्मको प्रदर्शन रोकी सहयोग गरिदिन अनुरोध गरिएको छ । (सौस)
प्रतिक्रिया