दोलखामा २५ स्वास्थ्य संस्था भत्किए

5दोलखा, २३ बैशाख । महाभूकम्पले जिल्लाका २५ वटा स्वास्थ्य संस्थामा पूर्णरूपमा क्षति पुर्‍याएपछि ग्रामीण क्षेत्रमा उपचार गर्न समस्या भएको छ । क्षति हुनेमा धेरैजसो स्वास्थ्य चौकी र प्रसूति कक्ष रहेका छन् ।

भूकम्पका कारण जिल्ला भरका ५८ स्वास्थ्य संस्थामध्ये १९ वटामा आंशिक क्षति भएका छन् भने १३ वटा जोगिएका छन् । भूकम्पले सुस्पाक्षमावती, गौरीशंकर, लामीडाँडा, कालिञ्चोकलगायत उत्तरी गाविसमा रहेका स्वास्थ्य संस्थामा बढी क्षति गरेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख डा. खगेश्वर गेलालले बताए । प्रसूति कक्ष भत्किएपछि सुत्केरी गराउन पनि समस्या भएको छ ।

भूकम्पले स्वास्थ्य संस्था कामै नलाग्ने गरी क्षति गरे पनि स्वास्थ्यकर्मीले जोखिम मोलेरै भए पनि स्वास्थ्य सेवा प्रदान गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले दाबी गरेको छ । ‘आपत्कालीन अवस्थामा स्थानीय नागरिकलार्ई सहज रूपमा स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्यकर्मीले बारीकोपाटोमा पाल टाँगेर पनि सेवा दिइरहेका छन् ।’ कार्यालय प्रमुख डा. गेलालले बताए ।

महाभूकम्पपछि महामारी फैलिन सक्ने भन्दै २७ वटा स्वास्थ्य संस्थामा औषधि तथा अन्य आवश्यकीय सामग्री पुर्‍याइएको छ । जिल्लामा चिकित्सकसहितको दुईवटा टोली पनि तयारी अवस्थामा राखेको डा. गेलालले बताए । यतिबेला स्वास्थ्य संस्थाहरूमा निःशुल्क रूपमा स्वास्थ्य उपचार भइरहेको छ भने औषधि पनि निःशुल्क वितरण भइरहेको छ ।

जिल्लामा आवश्यक पर्ने कुनै पनि औषधि अभाव नहुने र जुनसुकै अवस्थामा पनि औषधि उपलब्ध गराउन जिल्ला स्वास्थ्य कार्यालय तयार रहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत हरिहरप्रसाद शर्माले बताए । ग्रामीण क्षेत्रमा महामारी फैलन सक्ने भन्दै उच्च सर्तकता अपनाइएको शर्माको भनाइ छ । जिल्लाभर कार्यरत स्वास्थ्यकर्मीलार्ई बिदामा बस्न कडाई गरिएको बताउँदै शर्माले अटेर गर्ने कर्मचारीलार्ई कारबाही गर्नेसमेत बताए । जिल्लामा भूकम्प प्रभावितको उपचारका लागि चिकित्सकसहित ६ वटा बाह्य मेडिकल टिम परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा महामारी तथा प्रकोप हुन नदिनका लागि स्थानीय तहका सरोकारवाला निकायसँग समन्वय गर्ने र नियमित रूपमा औषधि र उपकरण आपूर्तिका लागि थप समन्वय गर्ने जिल्ला स्वास्थ्य कार्यालयको योजना छ । कार्यालयबाट अनुगमनलार्ई तीव्र बनाइनुका साथै कतै प्रकोप देखा पर्न साथ चिकित्सकसहितको टोली परिचालन गर्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सहित जिल्लाभरका स्वास्थ्य संस्थाले भूकम्पमा परी घाइते भएका दुई सय ३४ भन्दा बढीको उचपार गरेको छ । जसमध्ये १९ जनालार्ई अन्यत्र रेफर गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया