काठमाडौं । नेपाल ओलम्पिक कमिटीले सोमबार एक विज्ञप्ति जारि गरी विनाशकारी भूकम्पका कारण ज्यान गुमाउने प्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कमिटीले भुकम्पले निम्त्याएको विपत्मा ओलम्पियन, पारा ओलम्पियन, खेलाडी र प्रशिक्षकको साथमा रहेको उल्लेख गरेको छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, रियो ओलम्पिक २०१६ को आयोजक समितिलगायत विभिन्न देशका राष्टिय ओलम्पिक कमिटीले समेत पत्राचार गरी शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको ओलम्पिक कमिटीले जानकारी गराएको छ । कमिटीले दक्षिण एसियाली खेलकुद प्रतियोगिता, एसियन गेम्स, ओलम्पिक गेम्स खेलेका खेलाडी, संघमा आवद्ध प्रशिक्षक र खेल पत्रकार लाई सहयोग गर्ने बताएको छ । कमिटीले भूकम्पमा परी ज्यान गुमाउने प्रशिक्षक र खेलाडीको बारेमा जानकारी गराउन विभिन्न खेल संघहरूलार्ई विज्ञप्तिमार्फत अनुरोध गर्ने जानकारी गरायो । महाभूकम्पमा परी ज्यान गुमाउने दक्षिण एसियाली खेलकुद प्रतियोगिता, एसियन गेम्स, ओलम्पिक गेम्स खेलेका खेलाडी, तथा पारा ओलम्पियन संघमा आवद्ध प्रशिक्षक तथा खेल पत्रकारका परिवारलाई राहत स्वरूप २५ हजार रुपैयाँ तत्काल प्रदान गर्नेछ । साथै महाभूकम्पका कारण भौतिक क्षति भई घरमा बसोबास गर्न नसक्ने खेलकर्मीलाई तत्काललाई एक महिनाको खाद्यान्न दिने कमिटीले जानकारी दिएको छ ।
कमिटीले खेलाडीलाई विपद्बाट समान्य जीवनमा ल्याउन र पुनः बसोबासको व्यवस्थापनका लागि राष्टिय तथा अन्तर्राष्टिय तवरबाट समन्वय गरी पहल गर्नेछ । साथै राज्यले भूकम्प पीडितका लागि शिविर स्थापना गरेपछि विपत्मा परी मानसिक तनावमा परेकालाई तनावबाट मुक्त गर्नका लागि नेपाल ओलम्पिक कमिटीले शिविरहरूमा विभिन्न खेलकुदका सामग्री प्रदान गर्नेछ । साथै विभिन्न देशका राष्टिय ओलम्पिक कमिटिसँग समन्वय गरी अति आवश्यक सहयोगका सामग्री उपलब्ध गराउन पहल गरिनेछ । (सौस)
प्रतिक्रिया