कतै लुटपाट, कतै वितरण

Singerकाठमाडौं, २२ वैशाख । मनोरञ्जनका सम्पूर्ण गतिविधिलाई केही समयका लागि पछाडि राखेर कलाकारहरू यो बेला महाभूकम्प पीडितका लागि राहत वितरण गर्न गाउँगाउँमा व्यस्त छन् । उपत्यका बाहिरका जिल्लामा केन्द्रित रहेर निर्वाध रूपमा राहत वितरण भइरहँदा राजधानी नजिकैको सिन्धुपाल्चोक पुगेको फिल्मकर्मीको एक टोली भने लुटपाटमा परेको छ ।

सिन्धुपाल्चोकको अति विकट गाउँ सेलाङबारीका लागि राहत सामग्री लिएर जाँदै गरेको फिल्म ‘चंखे शंखे पंखे’ युनिट भने लुटपाटमा परेको छ । निर्देशक सुदर्शन थापाका अनुसार उनीहरूले लगेको राहतलाई भोटे सेलाङका गाउँलेहरूले लुटेका हुन् । ‘दुई दिन लगाएर बाटोमा झरेका करिब २० बढी ठूला पहिरो र भत्किएका घरहरू पन्छाउँदै सेलाङबारी पुग्ने बेलामा हाम्रो राहत सामग्रीलाई भोटे सेलाङका गाउँलेले आइतबार राती लुटे,’ निर्देशक थापाले भने, ‘स्थानिय जिविसको सहयोगमा डोजर लिएर बाटो पन्छाउँदै उद्धारमा रहँदा सरकारी राहत ठान्दै भोटे सेलाङका मान्छेले सबै सामान लगे ।’ थापाका अनुसार फोन नचल्ने भएका कारण सुरक्षाकर्मीसँग सम्पर्क हुन नसकेपछि राहत सामग्री जोगिएन । सुदर्शनले आपूहरूको करिब चार लाख मूल्य बराबरको राहत रकम लुटिएको दाबी गरे ।
फिल्मका निर्माता सन्तोष सेनले आपूले लगेको सामान लुटिदा निकै तनाव भएको बताए । ‘हामीले बन्द रहेको बाटो समेत खोल्दै राहत लगेका थियौँ तर जुन ठाउँका लागि लगिएको हो त्यो ठाँउ पुग्नुभन्दा करिब एक किलोमिटर अगाडिको भोटे सेलाङ गाउँमा लुटिदा नरमाइलो भयो,’ निर्माता सेनले प्रष्ट्याए, ‘किनकि उक्त गाउँमा हाम्रो राहतसँगै सरकारी राहत पनि पुगेको थियो र हाम्रै अगाडि बाँडिएको पनि थियो । भोटेसेलाङका ३० घरधुरीका लागि सरकारले २० बोरा चामललगायतका अन्य खाद्यसामग्री बाँडेको अवस्थामा हामी लुटियौँ ।’ सेनका अनुसार भोटे सेलाङमा भन्दा सेलाङबारीको अवस्था निकै नाजुक छ ।
सिन्धुपाल्चोकको भोटेसेलाङमा राहत सामग्री लुटिँदा त्यही जिल्लाको सिन्धुकोटमा भने फिल्मकर्मीले निर्वाध रूपमा राहत सामग्री बाँडेका थिए । निर्माता सुवास गिरी र उनको टिमले सिन्धुकोटको ९ वडाका करिब सात सय घरलाई राहत वितरण मात्र गरेन, मलेसियाबाट आएका डाक्टरहरूको टोलीले स्थानीय बासिन्दाको स्वास्थ्य जाँच पनि गरेको थियो ।
चलचित्र पत्रकार संघको संयोजनमा भएको राहत वितरणका लागि तीन ट्रक चामल, दाल र नुन पीडितका लागि लगिएको थियो । प्रत्येक परिवारलाई १५ किलो चामल, दुई किलो दाल, नुन वितरण गरिएको निर्माता गिरीले बताए । निर्माता गिरीका साथमा अभिनेता आर्यन सिग्देल, अभिनेत्री नम्रता श्रेष्ठ, निर्देशक दिनेश राउतसहित ६० स्वयंसेवक र डाक्टरहरू त्यहाँ पुगेका थिए ।
राहत वितरणमा सुवास गु्रप अफ कम्पनीसँग चलचित्र पत्रकार संघसँगै सुवास ह्युमन रिसर्च, इन्टरनेसनल म्यानपावर  रिक्वाएरमेन्ट, स्यामयोग ओभरसिज, सुवास इन्टरटेन्मेन्ट प्राली, आर्यन सिग्देल इन्टरटेन्मेन्ट प्राली, हाइली हाई इन्टरटेन्मेन्ट प्राली, फ्युजन पोलिक्लिनक एन्ड डाइग्नोसिज सेन्टर, मलेसिया इलिट डिजयास्टर रेस्क्यू फाउन्डेसन, पोटला ओभरसिज, असम म्यानपावर र वनसुरिया रिसर्चले सहकार्य गरेका थिए ।
शिविरमा करिब १४ सय मानिसले स्वास्थ्य परीक्षण गरेका थिए । निर्माता गिरीका अनुसार सिन्धुकोट गाविसका करिब सात सय घर बस्न लायक छैनन् भने क्षेत्रका ३५ जनाको ज्यान गएको थियो । ‘एउटा गाविसका सम्पूर्ण परिवारलाई राहत वितरण गर्न पाउँदा हामी खुशी छौँ,’ उनले भने, ‘अन्य क्षेत्रमा पनि औषधि र डाक्टरको टिम आवश्यक परेको खण्डमा हामीसँग सम्पर्क गर्न अनुरोध गर्दछौँ ।’ अभिनेता आर्यन सिग्देलले एक अर्काको दुःखमा साथ दिने बेला आएको बताउँदा अभिनेत्री नम्रता श्रेष्ठले सबैलाई यो दुःखमा एकजुट भएर काम गर्न र नयाँ दिनको कामना गर्न आग्रह गरिन् ।
यस्तै पप संगीतका गायकगायिकाको एक समूहले राजधानीदेखि २५ किलोमिटरको दुरीमा रहेको काभ्रे जिल्लाको कुशादेवी गाविसमा गत शनिबार राहत सामग्री वितरण गरेको छ । गायिका इन्दिरा जोशी, श्रुति राज्यलक्ष्मी सिंह, अर्पणा श्रेष्ठ, बुनु राई मानन्धर, गायक लक्षु निरौला र अनन्त श्रेष्ठको समूहले आफ्नो खर्चमा खरिद गरेको खाद्यान्न तथा प्रयोगमा आउने लत्ताकपडा वितरण गरेको हो ।
उनीहरूले कुशादेवी गाविसको वडा नं. १ देखि ९ सम्मका ७० घरपरिवारलाई ३५ बोरा चामल, दुई बोरा दाल, आठ बोरा चिउरा, ३० कार्टुन चाउचाउ, चार कार्टुन तेल, चार कार्टुन बिस्कुट, दालमोठ, मैनबत्तीलगायतको खाद्य सामग्री वितरण गरेको हो । गायकगायिकाले स्थानीय प्रशासन, राजनीतिक दल तथा नागरिक समाजको रोहबरमा राहत वितरण गरेको थियो ।
गायिका जोशीले समस्यासँग जुध्नुको विकल्प नरहेको भन्दै काभ्रेवासीसँग आफ्नो साथ हुने बताइन् । उनले अहिलेसम्म सरकारी निकाय र मिडिया नपुगेकोमा आश्चर्य मान्दै सरकारी निकायको काम प्रति असन्तोष व्यक्त गरिन् । गायिका श्रुति राज्यलक्ष्मीले भूकम्प पीडितको दुःखमा साथ दिने प्रतिवद्धता जनाउँदै विपत्को बेला सरकारको मुख मात्र ताकेर नभई सच्चा र सक्षम युवाको पनि जिम्मेवारी हुने बताइन् । कमेडियन मनोज गजुरेलले पनि सिन्धुपाल्चोकको लामोसाँघुका बालबालिकालाई कमेडी प्रहसनसँगै खानेकुरा बाँडेका छन् । भूकम्पको दुई दिनपछि गायत्री परिवार नेपाल, नोबल अस्पताल र सिस्नुपानी नेपालको संयोजनमा कलाकार गजुरेलले समूह बनाएर त्यहाँ पुगी पीडितको स्वास्थ्य परीक्षणसँगै खानेकुरा बाँडेका थिए । राजधानीको सिद्धार्थ कटेजमा बनाइएको हाइजेनिक खानेकुरा वितरण गरिएको उनले खुलाए ।
‘यो बेला विशेषत बालबालिका निकै तनावग्रस्त अवस्थामा हुन्छन्, उनीहरूमा भुँइचालोको डर रहिरहन्छ,’ उनले भने, ‘त्यसकारण उनीहरूलाई हँसाउन सक्यो भने सबै कुराबाट केही समयका लागि मुक्त हुन्छन्, जसले गर्दा उनीहरूमा पढ्ने वातावरण पनि सिर्जना हुन्छ ।’ संस्थागत र व्यक्तिगत खर्चमा जिल्लामा आएको बताउने गजुरेलले लामोसाँघु, तौथली, बाह्रबिसेलगायतका स्थानमा घाइतेको उद्धारसँगै राहत सामग्री वितरण गरेको जनाए ।

प्रतिक्रिया