काठमाडौं । महाभूकम्प आएपछि पीडितलाई विभिन्न किसिमबाट सहयोग पुर्याइरहेकी अभिनेत्री रेखा थापाले सोमबार बिहान प्रधानमन्त्री सुशील कोइरालासँग भेटेर भूकम्प प्रभावित क्षेत्रमा तत्काल सरकारी राहत पुर्याउन आग्रह गरेकी छन् । निर्देशक हिमग्याप टासी लामाका साथ प्रधानमन्त्री निवास पुगेकी रेखाले आफूसँग पीडितले राखेका माग सुनाएकी थिइन् ।
भेटपछि थापाले प्रधानमन्त्रीले आफ्नो सुझावलाई सकारात्मक रूपमा लिएको रेखाले बताइन् । प्रधानमन्त्रीले आफूलाई आत्तिएर मात्र समस्याको समाधान नहुने बताएको उल्लेख गर्दै राज्य र नागरिकहरू मिलेर विपत्तिको सामना गर्नुपर्नेमा जोड दिएको थापाले जनाइन् । ‘उहाँले दृढ इच्छा शक्तिको साथ उद्दार, राहत र पुनःस्थापनाको काममा लाग्न आग्रह गर्नुभएको छ ।’ रेखाले भनिन् ।
प्रधानमन्त्री कोइरालाले कलाकारहरूले भूकम्प पीडितलाई गरेको सहयोगको प्रशंसा गरेको उल्लेख गर्दै निर्देशक लामाले कोइरालाले कलाकारहरूसँग मिलेर आफूहरू अघि बढ्न चाहेको प्रष्ट्याए । ‘राज्य नपुगेको स्थानमा तपार्इंहरूले सेवा पुर्याउनुभएको छ । यसप्रति हामी आभारी छौँ ।’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै निर्देशक लामाले भने ।
करिब २० मिनेटको भेटघाटमा प्रधानमन्त्री कोइरालाले महाविपत्ति प्रति चिन्ता व्यक्त गर्दै प्रभावितलाई सक्दो सेवा दिने वचनवद्धता व्यक्त गरेका थिए । प्रधानमन्त्री कोइराला पछि रेखाले एनेकपा माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेट गरी भूकम्पले जनमानसमा पारेको प्रभावका बारेमा छलफल गरेकी थिइन् । (सौस)
प्रतिक्रिया