– वसुन्धरा भुसाल, कलाकार
त्योबेलाको चल्तीको रञ्जना सिनेमा हल । त्यही हलमा नेपालकै पहिलो नायिका भुवन चन्द दिदीले ‘हातै काट्यो बरै चालिसे चुराले, माया फाट्यो बरै गाउँलेको कुराले’ बोलको गीत गाएको र आफूले नाचेको म कहिल्यै भुल्दिनँ । त्योभन्दा पहिला पहिला पनि म स्कुलमा नाच्थेँ तर त्यसरी धेरै मान्छेका अगाडि मञ्चमा नाचेकी थिइनँ । त्यस यता सन्ताउन्न वर्ष बिते तर त्यो क्षण मनले बिर्सेको पटक्कै छैन । सानी फुच्चीले नाचेको सबैले मन पराए । पछि झन्–झन् जोस बढेर आउँथ्यो । घरमा पनि रोकावट थिएन । तर, समय बढदै जाँदा उमेरसँगै म पनि बढदै गएँ । बुबाआमाले नाच्न जान अनुमति दिन छोड्नुभयो । घरमा बुबाआमाले भन्थे– कुखुराको फुल फुट्यो फुट्यो, तेरो कारणले दिदी बहिनीको बिहे हुँदैन । छोरीले इज्जत फाली भन्ने लाग्थ्यो उहाँहरूलाई ।
म सधैँ भुवन दिदीको कार्यक्रम हेर्न जान्थेँ तर आफू पनि नायिका बनौंला वा पर्दामा देखिने कलाकार बनौंला भन्ने लागेको थिएन । अहिलेको जस्तो नाच वा कला सिक्ने ठाउँ पनि थिएनन् । घरको छिडीमा आमाको साडीलाई पर्दा बनाएर नाच्न कोसिस गर्थेँ । मलाई साथ दिने वरपरका साथी हुन्थे । एक दिन भुवन दिदीले भन्नुभयो, ‘ए, बसे ! मेरो फिलिम सुटिङ छ । हेर्न जान्छेस् ?’ ‘सुटिङ भनेको के हो ?’ भनेर सोधेँ । ‘सिनेमाको सुटिङ क्या’ भनेपछि उनको पछि लागेर चोभार डाँडामा गएँ । भुवन दिदीले ‘आमा’ फिलिममा नायिका भएर खेल्न लागेकी रहिछन् । मलाई सुटिङ भनेको थाहा थिएन । एउटा ढुंगामा टुसुक्क बसेँ शिवशंकर दाजु र भुवन दिदी नाच्नुभयो ‘गरुँला हामी सिर्जना अर्को प्रितीको जगतमा’ बोलको गीतमा म भने आफ्नै तालमा यता उता गर्थेँ । वरपर ठूला–ठूला क्यामेरा थिए । डाइरेक्टरलाई मेरो के कुराले प्रभाव पार्यो, थहा छैन । एक्कासी भने– इधर आओ छोकडी । लुरु–लुरु गएर ‘किन ?’ भनेर सोधेँ । उसले ‘फिलिम मे काम करोगी’ भनेर सोध्यो । दायाँ बायाँ केही नसोची फुत्त मेरो मुखबाट शब्द निस्केछ, ‘देगा तो करेगा’ । हिन्दी बोल्न आउँदैनथ्यो । के भन्दा के पर्छ थाहै थिएन । त्यसपछि ‘आमा’ फिल्ममा अभिनय गर्ने मौका पाएँ । पर्दामा अभिनय गर्ने अवसर त्यहीँबाट पाएँ । त्यसको श्रेय भुवन दिदीलाई जान्छ ।
भुवन दिदीकै कारण पहिलो नेपाली सिनेमा आमामा अभिनय गर्ने मौका पाएँ । ०२१ सालमा सुटिङ सुरु भएर ०२२ मा प्रदर्शन भएको उक्त सिनेमामा नायिकाको भूमिका निर्वाह गर्न पाएँ । त्यसपछि अहिलेसम्म सयौँ चलचित्रमा अभिनय गरेँ । उक्त फिलिम आर्मी हेडक्वार्टरमा प्रदर्शन भएको थियो । । श्याम श्वेत उक्त फिलिमको उद्घाटन तत्कालीन राजा महेन्द्रले गरेका थिए । उक्त फिलिममा मेरो थेगो ‘ए रातै’ थियो । पछिसम्म दर्शकले जहाँ भेटे पनि ‘ए रातै’ भनेर जिस्क्याउँथे । पछिल्लो पुस्ताले नक्कली, गौँथली जस्ता नामले चिने । बाटोमा हिँड्दा युवाहरूले जिस्क्याउँथे । कानै खाने गरी भन्थे, ए रातै । ‘हिजोआज केभो केभो ए रातै तिम्रै माया लाग्छ‘ भनेर बाटो हिँड्नै हुँदैन थियो । म पनि के कम ‘मोरी जा मोरा हो, कीरा परेको मुख’ भन्दै धेरैलाई धारे हात लगाउँथेँ । मेरो कला मन पराएर त्यसो गरेका हुन् भन्ने पछि बुझेँ । ‘ए नक्कली’ भनेर जिस्क्याउने युवा कति अघि पछि लाग्थे । पछि मीठो भाषामा ‘नक्कली दिदी’ भन्न थाले । समाजको संकीर्ण सोचाइको कति सिकार भएँ भएँ । भनिसाध्यै छैन ।
म सरल र सहज कलाकार हुँ । उमेरको कारणले पनि होला, आफूलाई जिम्मेवार बन्नुपर्छ भन्ने लाग्छ । त्यसैअनुसारको भूमिका निर्वाह गर्ने कोसिस गर्छु । म कामलाई सम्मान गर्छु । जसको जुन जिम्मेवारी छ, त्यो अनुसार व्यवहार गर्नुपर्छ भन्ने लाग्छ ।
त्यतिबेला अहिलेको जस्तो गाडीको सुविधा थिएन । समाजिक सोचाइ साँघुरो थियो । हुर्केका छोरी बाहिर निस्के अनेक कुरा काट्थे । आफू त झन् कलाकार सुटिङबाट फर्कंदा राति फर्कनु पथ्र्यो । छरछिमेकीले चियो गर्ने, कुरा काट्ने गर्थे । बुबाले सिस्नोपानी लगाउनुभयो । कुटाइको कुरै नगराँै । उमेर बढ्दै जाँदा घरमा रोकावट हुन थाल्यो । युनिटको गाडी हुँदैन थियो, ट्याक्सीमा आउनुपर्ने । पुर्याउन कहिले को कहिले को आउँथे । छिमेकी त्यसैको फाइदा उठाएर भन्थे, ‘हेर ! हेर ! डिठ्ठाको छोरीले केटा फेरी–फेरी हिँडेकी ।’ त्यतिबेला पर्दामा काम गर्ने कलाकार धेरै हुँदैनथे । अझ महिला त सीमित हुने हुँदा धेरै कुराको ख्याल गर्थे निर्माता निर्देशक । अनुशासन कडा हुन्थ्यो । थोरै मान्छेमा को–कस्तो छ सबैलाई आनीवानी थाहा हुन्थ्यो । उमेरले पनि सिनियर भएर होला सबैले अभिभावकको व्यवहार गर्थे । कसैले जिस्क्याउन खोजे म उसमाथि जाइलाग्थेँ ।
अभिनय गरेको पहिलो सिनेमा ‘आमा’ मा पारिश्रमिक राम्रै पाएँ । दैनिक दस रुपैयाँ पकेट खर्च दिन्थे । त्यही बेलाको दस रुपैयाँले धेरै खर्च गर्न पुग्थ्यो । सिनेमाको इन्डोर सुटिङ कलकत्तामा थियो । कहिल्यै जहाज नचढेको त्यो अवसर पनि जुट्यो । देशबाहिर जान पनि पाएँ, घरले अनुमति दियो । केही पैसा पनि हात लाग्यो । त्यो क्षण कहिले पनि भुल्दिनँ । कलकत्ता जस्तो ठाउँ, बस्ने होटल पनि ठूलो । भारतका चर्चित कलाकारहरूसँग भेट भयो । उनीहरूको सिनेमा हेर्ने अवसर पनि पाएँ । सिने जगत कस्तो रहेछ, थोरै भए पनि बुझ्न पाएँ ।
आमाको रिलिज आर्मी हेडक्वार्टरमा थियो । सुटिङ टुक्रा–टुक्रा हुन्थ्यो, फिलिममा त सररर आयो । म छक्क परेँ । पर्दामा हेरेँ, आफै हुँ कि होइन भन्ने लाग्यो । गौरव अनुभूति भयो । फुच्ची मान्छे मलाई कसैले चिन्दैनथे । तर, अगाडि थिएँ । राजाले रिबन काटेपछि म दौडेर अगाडि गएँ । छात्तीमा दर्जनौ तक्मा लगाएका आर्मीले ‘जानु हुँदैन’ भन्दै पुनः कुर्सीमा राखे । फिलिम हेरेपछि त सबैले ताली पिट्दै ‘ए रातै’ भने । फिलिममा मेरो नामा भुन्टी थियो, मान्छे पनि भुन्टी नै थिएँ । सबैले ताली पिट्दा साह्रै खुसी लाग्थ्यो । सिनेमामा मेरो नाम अनौठो हुन्थ्यो– भुन्टी, नक्कली, च्यान्टी, गौथली हुन्थे । त्यही नाम नै मेरो पहिचान बन्यो ।
आमाबाट पाएको पैसाले कलकत्तामा धेरै किनमेल गरेँ । घरमा आएर सबैलाई फूर्ति लगाएँ । आफूले हेरेको, खाएको, बसेको र भेटेका व्यक्तिहरूका बारेमा सबैलाई भनेँ । ‘आमा’ ले नाम र दाम दुवै दियो । तर, पनि परिवार त्यति सकारात्मक थिएन । फिलिम चलेपछि तत्कालीन राजा महेन्द्रको हातबाट महेन्द्र रजतभूषण पदक पाएँ । त्यसपछि भने बुबाले खुसी भएर भन्नुभयो– नाक काट्ली भन्ने डर थियो, इज्जत राखी भन्नुभयो । त्यतिबेला अलइन्डिया रेडियोमा नाम आएपछि मलाई अझ हौसला बढ्यो । तर, मेरो फिलिम बुबाले हेर्नुभएन । पहिलोपटक आमाले ‘मनको बाँध’ हरेर भन्नुभयो, ‘त्यस्तो पनि गर्नुहुन्छ ? बाउ छोरालाई झुलाएर अर्कैसँग हिँड्ने ?’ त्यो फिलिमको सुटिङ कात्तिकमा भएको थियो । पञ्चेबाजा थियो । म दुलहीको भेषमा बाख्रा दाइजो अघिपछि जन्ती थिए । हेर्नेलाई उक्त बिहे साँच्चै हो भन्ने लागेछ । ‘यो केटी कस्तो अलछिनी रहिछ ? कात्तिकमा बिहे गर्ने’ भने । मलाई भने मनमनै हाँसो उठ्यो ।
बिहेपछि फिलिममा काम गर्न सहज भयो । श्रीमान्ले हौसला दिनुभयो । श्रीमान्सँग बसेर पहिलो फिलिम ‘सिन्दूर’ हेरेँ । फिलिममा गोपालराज मैनाली मेरा जोडी थिए । गोपाल दाजुले श्रीमान्लाई ज्वाइँ मान्ने हुनाले कुनै गुनासो हुँदैन थियो । बरु बेला–बेला छोराले भन्थ्यो, मम्मी चंखे मामासँग फिलिम नखेल्नु । साथीहरूले मलाई जिस्क्याउँछन् । बाटोमा श्रीमान्सँग हिँड्दा चिन्नेले भन्थे, ‘पर्दामा पो चंखे नराम्रो देखिएको, मान्छे त राम्रो रहेछ नी ।’ कुनै कार्यक्रममा म एक्लै गए ‘खै चंखे ?’ भन्थे, उहाँ एक्लै गए ‘ए दाइ, नक्कली दिदीलाई किन नल्याएको ?’ भन्थे रे दर्शकले ।
कंयाँै फिलिम रिलिजपछि केही पुगेन भन्ने लाग्छ । जस्तो ‘परालको आगो’ को सुटिङ दार्जिलिङमा थियो । म गौंथलीको रोलमा । नेपालबाट म मात्र, त्यो पनि हिरोइनको रोलमा थिएँ । अहिले भएको भए उक्त फिलिम ओस्कार अवार्डको छनोटमा पथ्र्यो । सुटिङमा एउटा मात्र माटोको गाग्रोको व्यवस्था गरेको रहेछ । डाइरेक्टरले भने, ‘बहिनी, ‘वान टेक ओके’ गर्नुपर्छ, गाग्री एउटा मात्र छ है ।’ मलाई झन् डर लाग्यो । कतै डायलग अड्कियो वा क्यामेराको गडबडी भयो भने त सकिन्छ ! यो जाबो माटोको गाग्रोमा पनि किन कञ्जचुस्याइँ गरेको होला ? अरू एक/दुईवटा ल्याएको भए हुने नि भन्ने लाग्यो । जे होस सुटिङ एकै टेकमा ओके भयो । टंक शर्मा नायक थिए । उनले हानेको लातसँगै हत्त न पत्त डायलग बोले । ‘तेरो कोर सल्केको हात, बाउआमा राण राडी यस्तालाई सुम्पिएर !’ भने । पछि लाग्यो अरू एक/दुई टेक गर्न पाएको भए अझ राम्रो गर्थे होला । कहिले काहीँ हामीले गरेको अभिनयलाई क्यामेरा र डाइरेक्टरले जता चाहे उतै लाँदा रहेछन् । नराम्रोलाई राम्रो, राम्रोलाई नराम्रो । हाम्रो अभिनय नै सबै कुरा हुँदो रहेनछ ।
आजसम्म आउँदा सयौँ फिलिममा अभिनय गरेँ तर आफ्नो अभिनयबाट सन्तुष्ट हुन सकेकी छैन । अझ फरक खालको चुनौतिपूर्ण, गाह्रो र फरक रोलमा दर्शकसामु जान पाए हुन्थ्यो भन्ने छ । नक्कली, गौंथली, भुन्टीले चिनायो । अब समय फेरिएको छ । दर्शकको हेर्ने सोचाइ फेरिएको छ । त्यसैले फरक रोलमा अभिनय गर्ने चाहना छ तर त्यो अवसर पाएको छैन । मलाई कलाकार भएकोमा गर्व छ । बेकारमा किन यो पेसामा लागेछु भन्ने पछुतो छैन । हिजोको कठीन अवस्थामा पनि दर्शकलाई हँसाउन र मनोरञ्जन दिन सकियो भनेर खुसी लाग्छ ।
म सरल र सहज कलाकार हुँ । उमेरको कारणले पनि होला, आफूलाई जिम्मेवार बन्नुपर्छ भन्ने लाग्छ । त्यसैअनुसारको भूमिका निर्वाह गर्ने कोसिस गर्छु । म कामलाई सम्मान गर्छु । जसको जुन जिम्मेवारी छ, त्यो अनुसार व्यवहार गर्नुपर्छ भन्ने लाग्छ । अभिनय गर्दा कहिलेकाहीँ उमेरमा आफूभन्दा सिनियरको आमा बनेर खेल्नुपर्छ । त्यो मलाई सामान्य लाग्छ । रिलमा कहिले को लाइफ पार्टनर हुन्छ, थाहै हुँदैन । हामी हास्य कलाकार, कसरी हुन्छ हामीले दर्शकलाई मनोरञ्जन दिने हो । पर्दाको साइनोको अर्थ त्यही मात्र रहन्छ । मेरो विधालाई जुन उमेर वा जस्तो बनाए पनि हुन्छ, केही फरक पर्दैन । यही विधाबाट सधैँ दर्शकको माया पाइरहन पाइयोस्, अरू केही चाहिँदैन ।
प्रस्तुति : चमिना भट्टराई
प्रतिक्रिया