मुम्बई । नेपालको ट्रेकिङसँग निकटस्थ मानिएका चर्चित स्टेन्डअप कमेडीयन पापा सिजेले भारतको नयाँदिल्लीमा ‘नेक्ड’ नामक कमेडी शो प्रस्तुत गरेर नेपालका महाभूकम्प पीडितका लागि आर्थिक संकलन गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनले गत शुक्रबार राति त्यहाँ कार्यक्रम गर्दै केही रकम उठाएका थिए भने भारतका अन्य स्थानमा पनि उक्त शो देखाइनेछ । ‘हामीले कार्यक्रममा प्रवेशका लागि दुई हजार रुपैयाँ मूल्य तोकेका थियौँ, यो रकम सिधै नेपालका भूकम्पपीडितका नाममा जानेछ,’ पापाले भनेका छन्, ‘मानिसले चेकमार्फत वा सिधै रकम दिएर पनि सहयोग गर्न सक्नेछन् ।’
आफैँ पनि पर्वतारोहणमा कुशल प्रशिक्षक मानिएका पापा सगरमाथाको आधारशिविरसम्म पुगिसकेका छन् । यो अटोबायोग्राफिकल शोमा उनले विद्यालय, काम, माया, सेक्स, इच्छा र आशाका कुराहरू प्रस्तुत गरेका थिए । यो प्रस्तुति सन् २०१५ को सुरुवाती महिनामा मेलबर्न इन्टरनेशनल कमेडी फेस्टिबलमा पनि देखाइसकेका छन् । (एजेन्सी)
प्रतिक्रिया