मुम्बई, २१ वैशाख । बलिउड स्टार सलमान खानले नेपालका भूकम्पपीडितहरूलाई सहयोग गर्ने आफ्नो कुनै योजना नरहेको बताएका छन् ।
सामाजिक सञ्जालमा शनिबार राति सन्देश लेखेर सलमानले नेपालका भूकम्पपीडितलाई राहत दिने कुनै योजना नरहेको बताएका हुन् । सलमान खानले आफ्नो एनजिओमार्फत नेपालका भूकम्पपीडितलाई सहयोग गर्दैछन् भन्ने भारतीय सञ्चारमाध्यमहरूले प्रसारण तथा प्रकाशन गरेको समाचारको खन्डन गरेका हुन् । बलिउड नायक सलमानले ‘वीइंग ह्यूमन’ नामक एनजिओ चलाउँदै आएका छन् । आफ्नो एनजिओको भारतमा मात्रै सहयोग गर्ने नीति रहेको उनको भनाइ छ ।
यसअघि पनि भारतीय सञ्चारमाध्यमहरूले अभिनेता अक्षय कुमारले पनि आफ्नो नयाँ फिल्मको पहिलो दिनको कमाइ नेपालका भूकम्पपीडितलाई दिँदैछन् भन्ने हल्ला फिँजाएका थिए । जवाफमा अक्षयले आफूले नेपाललाई सहयोग दिने भनेर कुनै आश्वासन नदिएको बताएका थिए ।
अक्षयले जवाफमा आफूले अरूको फिल्ममा रकम लिएर खेलेकाले त्यसमा हस्तक्षेप गर्न नमिल्ने जनाएका थिए ।
नायकद्वय सलमान र अक्षयका नेपालमा प्रशस्त समर्थक छन् । उनीहरूले अभिनय गरेका फिल्म नेपालमा चल्छन् पनि । तर, उनीहरूले नेपालमा रहेका आफ्ना समर्थकहरूको मन दुख्नेगरी दिएको टिप्पणीले नेपाली सञ्चारमाध्यमहरूमा समाचारले स्थान पाएका छन् ।
नेपालमा आएको भूकम्प र त्यसबाट पीडितहरूको सहायताका लागि बलिउडका सुपरहस्ती अमिताभ बच्चन, शाहरूख खान, प्रिटी जिन्टालगायतका कलाकारले सहयोगका लागि अपील गरेका छन् ।
प्रतिक्रिया