काठमाडौं, २१ वैशाख । अर्थ मन्त्रालयले भूकम्प पीडितको खोजी, उद्धार तथा राहतमा आवश्यक पर्ने मालसामानमा लाग्ने भन्सार महसुललगायतमा दस्तुर नलाग्ने स्पस्ट पारेको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्बाट वैशाख १२ गते नै निर्णय भई कार्यान्वयनको चरणमा रहेको स्पष्ट पारेको हो ।
यो व्यवस्थाअन्तर्गत राहत एवं राहतकर्मीको सामान छिटो आयात गर्न नेपाल सरकार तथा संयुक्त राष्ट्रसंघबीच सम्पन्न राहत खेप एवं राहतकर्मीको साथमा सामान छिटो आयात निर्यात एवं पारवहनसम्बन्धि छाँया सम्झौता अनुसार छुट दिने निर्णय गरी कार्यान्वयन भइरहेको पनि अर्थमन्त्रालयले जनाएको छ । मन्त्रालयले यसका लागि गृहमन्त्रालयको सहसचिवको नेतृत्वमा विभिन्न मन्त्रालयका अधिकारी तथा सेनाका प्रतिनिधि रहेको संयन्त्र केन्द्रमा र जिल्लामा प्रमुख जिल्ला अधिकारी रहेको संयन्त्रले राहत स्वीकार गरी काम गरिरहेको जनाएको छ । अर्थका अनुसार आगामी जेठ २० सम्म पाल र त्रिपाल आयातमा कुनै भन्सार नलाग्ने निर्णय पनि सरकारले गरेको छ । मन्त्रालयले उद्धार तथा राहत सामग्रीको भन्सार जाँच पास पनि फास्ट ट्रयाकअन्तर्गत भइरहेको जनाएको छ ।
प्रतिक्रिया