क्रिकेट हल र ग्राउन्ड भत्किएकाले अभ्यास प्रभावित

cricket-2काठमाडौं, २० वैशाख । नेपालमा शनिबार गएको ७.६ रिक्टरको भूकम्पको कारण नेपाल क्रिकेट टोलीको अभ्यासका लागि बनाइएको इन्डोर क्रिकेट हल भत्किएको छ । साथै टियू ग्राउन्डको पर्खाल र ग्राउन्डसमेत चर्किएका कारण नेपाली राष्ट्रिय टोलीले स्कटल्यान्डसँगको खेलअघि अभ्यास गर्न नपाउने भएका छन् । जसकाकारण नेपाल क्रिकेट संघ क्यानकी सिइयो भावना घिमिरेले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) समक्ष स्कटल्यान्डसँगको नेपालको खेल पछि सार्न अनुरोध गरिसकेको बताइन् । तर, बिसिसिआईले पनि नेपाल क्रिकेट टोलीको तयारी तथा अभ्यासका लागि सहयोग गर्ने बताएको छ । बिसिसिआईले नेपाललाई आवश्यक परेमा आफ्नो नेसनल क्रिकेट एकेडेमीमा अभ्यास तथा तयारी गर्न दिने बताएको छ ।

यसैबीच भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईले टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाललाई सहयोग गर्ने समेत तीन दिनअघि जानकारी गराएको भावनाले बताइन् ।
भूकम्पपछि नेपाली क्रिकेटरहरूको तयारी समेत प्रभावित भएपछि स्कटल्यान्डसँगको खेल पछि सार्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीसमक्ष गरेको आग्रह सकरात्मक रूपले लिएको क्यानका सिइयो भावना घिमिरेले बताइन् । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र स्कटल्यान्डको खेल जुन १० र १२ का लागि तय भएको छ । यसलाई जुन अन्त्यतिर सार्न आइसिसी र स्कटल्यान्डलाई आग्रह गरिएको भावनाले जानकारी गराइन् ।
भारतीय क्रिकेट बोर्डले गरेका आग्रहलाई नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक पुवुदु दासानायके आएपछि निर्णय गर्ने क्यानले जनाएको छ । उनी हाल क्यानाडामा रहे पनि मे १० मा नेपाल आउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया