गाउँ–गाउँमा फिल्मकर्मीको राहत

gipakraj_giriकाठमाडौं । सुटिङका लागि गाउँतिर दौडिने फिल्मकर्मीहरू साताअघिको महाभूकम्पपछि फिल्मको कामलाई थाँती राखेर भूकम्प प्रभावित गाउँ पुगी पीडितहरूसँग भलाकुसारी गर्दै राहत वितरणमा केन्द्रित हुन थालेका छन् । नयाँ सालमा राम्रो फिल्म दर्शकलाई दिने भनेर पर्खिरहँदा एक्कासी भूकम्प आएपछि फिल्मका सम्पूर्ण कामलाई केही पछाडि धकेल्दै पीडितको पीडालाई कम गर्न उनीहरू गाउँ पुगेका हुन् ।

केही फिल्मकर्मीहरू राजधानीका गाउँ पुगेका छन् भने केहीले सिन्धुपाल्चोकका गाउँलाई प्राथमिकता राखेका छन् । केही कलाकार चाहिँ उपत्यका बाहिरका स्थानमा गएर पीडितलाई राहत दिइरहेका छन् । फिल्म ‘होस्टेल रिटर्नस्’ले शुक्रबार राजधानी नजिकको गाउँ नाङ्लेभारे पुगेर जीवन उपयोगी किसिमका सामग्री वितरण गर्‍यो भने शनिबार नै यो टोलीले काभ्रेस्थली, कलंकी र सीतापाइलाका भूकम्प पीडितसमक्ष राहत वितरण ग¥यो ।
फिल्मका निर्माता सुनिल रावल, निर्मात्री दुर्गिश थापा, वितरक गोविन्द शाही, निर्देशक सुरज भुसालले शुद्ध प्लस गुट्खा र स्कोप नेपाल संस्थासँग सहकार्य गर्दै डेढसय ब्ल्यांकेट, एक सय त्रिपाल, दस कार्टुन पानी र चाउचाउ, कुकिज, मास र दुई बोरा चिउरा वितरण गरेको थियो । निर्माता रावलका अनुसार आफ्नो ब्यानर दुर्गिस फिल्मस्ले सरकारको उपस्थिति नभएको स्थानमा फिल्म युनिटले राहतलाई विशेष प्राथमिकता दिनेछ । रावलले यसैसाता ललितपुरको मनिखेल, काभ्रेको पोखरीचौर, धादिङको आदमघाट पुगेर राहत वितरण गर्ने बताए ।
फिल्म निर्माण कम्पनी गोपीकृष्ण मुभिजले राहत वितरणको पहिलो गन्तव्यमा सिन्धुपाल्चोकको तौथली गाविसलाई रोजेको छ । मुभिजको टोलीले भूकम्प प्रभावित सिन्धुपाल्चोकको तौथली गाविस बजारमा शनिबार पुगेर राहत वितरण गरेको हो । टोलीमा सहभागी मुभिजका दयाराम पाण्डेका अनुसार तौथली गाविस भन्दा आठ किलोमिटर तल रहेको अर्को एक गाउँमा पनि पुगेर राहत सामग्री वितरण गरिएको छ । ‘स्थानीयले आफ्नो क्षेत्रमा सरकारको आँखा नपुगेको भन्दै आक्रोश पोखिरहेका छन्, ’उनले भने, ‘चाँडो भन्दा चाँडो आफ्नो गाउँमा राहत आइपुगोस् भन्ने उनीहरूको चाहना छ ।’
टोलीमा गोपीकृष्ण मुभिजकी अध्यक्ष निकिता पौडेल, निर्देशक निरक पौडेल, निर्देशक रेशराज आचार्य, मनोज केसी, गौरी मल्ल, निता पोख्रेल र सञ्चारकर्मीहरू थिए । उनीहरूले तीन लाख मूल्य बराबरको चामल, चिउरा, चाउचाउ, त्रिपाल, नुन, साबुन, जुस वितरण गरेका थिए । टोलीमा संलग्न पत्रकार सामिप्यराज तिमिल्सिनाले आफ्नो फेसबुक पेजमा मल्लकालीन तौथली बजार पूरै ध्वस्त रहेको उल्लेख गर्दै घर भत्केर पुरिएका केही मानिस अभै निकाल्न नसकिएको जनाएका छन् ।
फिल्म ‘चंखे शंखे पंखे’ले पनि शनिबार सिन्धुपाल्चोकको सेलाङ गाउँ पुगी राहत वितरण गरेको छ । फिल्मका निर्देशक तथा अभिनेता सुदर्शन थापा, अभिनेत्री पूजा शर्मा, निर्माता सन्तोष सेनलगायतको टोली खाद्यान्न सामाग्रीसहितको टोली लिएर त्यहाँ पुगी वितरण गरेका हुन् । ‘सरकारको आशा गरेर बस्ने हो भने यहाँ भूकम्पले घरविहीन भएर हरेक नेपाली भोलि भोकभोकै मर्ने दिन नआउला भन्न सकिन्न, आखिर हामी नेपाली हाँै सबै तिर सरकारको ध्यान जानु पर्ने हो तर विडम्बना हाम्रो सरकार एउटा सरकारको नाममा कटपुतली बनेको छ, ’अभिनेत्री पूजाले फेसबुकमा स्टाटस लेखेकी छन्, ‘ उनीहरूलाई केबल देश विदेशबाट आएको राहत कसरी पचाउने होला भन्ने दाउ मात्र खोजिरहेका छन् । त्यसैले अब हामी नेपाली सर्वप्रथम अलपत्र परेका बाँच्ने लाई बचाऊ अनी सबै मिलेर कुर्सीमा बस्नेलाई केही गरौँ । जाँदै छौ हामी राहतका लागि सिन्धुपाल्चोक जिल्लाको विकट गाउँ सेलाङमा ।’
त्यस्तै अभिनेत्री तथा निर्मात्री नम्रता श्रेष्ठ पनि एक टोली लिएर बाह«बिसेको कटारी पुगेकी छिन् । बाटो अवरुद्ध भए पनि आपूहरू कहिले हिँड्दै त कहिले बाइकमा त्यहाँ पुगेको उनले फेसबुक पेजमा उल्लेख गरेकी छन् । ‘हामीले त्यहाँ केही मेडिकल असिस्टेन्टको व्यवस्था गर्दै टेन्ट वितरण ग¥यौँ, यो बाहेक खाद्यान्न, लुगा, ब्ल्यान्केटसहित औषधि पनि पीडितलाई दियौँ ।’नम्रताले फेसबुकमा लेखेकी छन् । फिल्म निर्मात्री, अभिनेत्री तथा पूर्व मिस नेपाल माल्भिका सुब्बाले पनि नुवाकोटको सेन्चेन गुम्बाको लागि राहत पठाएकी छन् । हास्य कलाकार शिवहरि पौडेलले पनि मकवानपुरको हेटौंडा–९ का भूकम्प पीडितलाई त्रिपाल र सुकुल वितरण गरेका छन् ।
यसैबीच स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको संयोजनमा फिल्मकर्मीले शनिबार उपत्यकाका तीन वटै जिल्लाका विभिन्न स्थानमा पुगी औषधि र खाद्यान्न वितरण गरेका छन् । नेपाल चलचित्र विकास बोर्डसँग सहकार्य गर्दै करिब ९० जना फिल्मकर्मीको टोली तीन क्षेत्रमा बाँडिएर औषधि र खाद्यान्न वितरण गरेका हुन् । उनीहरूले वितरणसँगै सफा पिउने पानी, सफा स्थान र स्वस्थ जीवनका बारेमा चेतना जगाएका थिए ।
दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, झरना थापा, केकी अधिकारी, करिश्मा मानन्धर र भुवन केसीलगायतका कलाकारहरू पीडित बसेको स्थानमा पुगेर भलाकुसारी गर्दै स्वस्थ्य रहन आग्रह गरेका थिए । बोर्डका सदस्य तथा फिल्मकर्मीका संयोजक सुरेश दर्पण पोखरेलले भूकम्पको पीडामा परेका पीडितमाझ स्वास्थ्यदेखि अन्य विषयका चेतना पैmलाउँदा उनीहरूको अनुहारमा मुस्कान देखिएको बताए । उनका अनुसार सोमबारदेखि टोली उपत्यका बाहिर जाँदै छ ।

प्रतिक्रिया