काठमाडौं । महाभूकम्पपीडित व्यक्तिलाई राहत वितरण गर्ने काममा नेपाली फिल्मकर्मी सक्रिय भएर लागेका छन् । पीडितलाई राहत संकलन, वितरणदेखि आर्थिक सहयोगको घोषणामा उनीहरू लागिपरेका छन् ।
निर्देशक तथा अभिनेता आकाश अधिकारीले आफू अध्यक्ष रहेको संस्था आशाको ज्योति नेपाल र सुजन गुरुङको आइ टु वी नामक संस्थासँग साझेदारी गरी ललितपुरस्थित खोकना गाविसमा स्वास्थ्य शिविर गर्दै राहत वितरण गरे । ‘त्यहाँ हामीले खाद्यान्नभन्दा पनि बढी स्वास्थ्यका विषयमा नै सरोकार राखेर स्वास्थ्य शिविर सञ्चालन गर्यौँ, धेरै मात्रामा वृद्धवृद्धा र बालबालिका बिरामी भेटिए’ करिब पाँच सय जना बसेको क्याम्पमा पुगेका अधिकारीले भने, ‘सरकारी टोली कोही पनि गएको पाइएन, त्यहाँ शौचालयको व्यवस्था नहुनाले दुर्गन्धित वातावरण देखियो, जसले गर्दा थप बिरामी बढ्ने सम्भावना प्रबल छ ।’ उनका अनुसार त्यहाँ २ सय ७५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
उक्त स्थानमा निर्देशक आकाशसहित अर्का निर्देशक सविर श्रेष्ठ, आर्यन अधिकारी र सुजनसहित करिब ३० जना स्वास्थ्यकर्मीको टोली गई बिरामीको उपचार गरेको थियो । स्वास्थ्य जाँचका अलावा टोलीले खाद्यन्न र केही लत्ताकपडा पनि वितरण गरेका थिए ।
स्थानीय विष्णुभक्त महर्जनको भनाइ उद्धृत गर्दै निर्देशक अधिकारीले जनाएअनुसार भूकम्पबाट जोगिएका अधिकांश परिवार त्रिपालमुनि बस्न बाध्य छन् । सरकारले एक व्यक्ति बराबर दुई प्याकेट चाउचाउ र एक किलो चामलबाहेक अरू कुनै राहत उपलब्ध नगराएको गुनासो स्थानीयको रहेको उनले जनाए ।
रेशम फिलिलिको पाच लाख
गत वैशाख ११ गतेबाट प्रदर्शनमा आइरहँदा भूकम्पको मारमा परेको फिल्म ‘रेशम फिलिलि’ले भूकम्पपीडितलाई राहत स्वरूप पाँच लाख रूपैयाँको अक्षयकोष स्थापना गरेको छ । फिल्मका निर्माता माधव वाग्लेका अनुसार कोषको रकम भूकम्प प्रभावित सरकारी विद्यालयलाई प्रदान गरिनेछ ।
‘अहिले हामीले पाँच लाख रूपैयाँको कोष खडा गरेका छौँ, यो कोषमा अन्य क्षेत्रमा इच्छुक व्यक्तिले पनि सहयोग गर्न सक्नुहुनेछ,’ निर्माता वाग्लेले भने, ‘हाम्रो सहयोगले विशेषत भूकम्प प्रभावित सरकारी विद्यालयले नयाँ रूप पाउनेमा विश्वस्त छौँ ।’ निर्माता वाग्लेसहित फिल्मकी अर्की निर्मात्री रोजिता घले, निर्देशक प्रणय जोशी, अभिनेता विनय श्रेष्ठले ठैबका स्थानीय बासिन्दालाई भुजा, चाउचाउ, बिस्कुट, चिउरा, दालमोठ वितरण गरेका छन् ।
अन्डा बाड्दै सरोज
एकताका नेपाली फिल्म जगत्का चर्चित अभिनेता सरोज खनालले भूकम्पपीडितलाई १० लाख मूल्य बराबरका २० हजार अन्डा वितरण गर्ने भएका छन् । खनालले आफ्नो खनाल पोल्ट्री र्फम र नेपाल अन्डा उत्पादक संघसँग सहकार्य गर्दै अस्पतालमा भर्ना भएका भूकम्पपीडितलाई अन्डा वितरण गर्न लागेका हुन् । धादिङ, गोर्खा, सिन्धुपाल्चोक, नुवाकोटलगायत जिल्लाबाट अस्पताल भर्ना भएका भूकम्पपीडित घाइतेलाई अन्डा वितरण गर्ने अभिनेता खनालले बताए ।
हाल अमेरिकामा बस्दै आएका खनाल एक महिनाअघि नेपाल आएका थिए । तर, अमेरिका फर्कने तयारीमा रहँदारहँदै महाभूकम्प आएपछि यात्रालाई केही समय थाती राखी सिन्धुपाल्चोकबाट अन्डा वितरण अभियानलाई सुरु गर्न लागेका हुन् । उनले चितवनको अस्पतालमा उपचाररत घाइतेहरूलाई स्थानीय साथीहरूमार्फत अन्डा वितरणको जिम्मा दिइसकेका छन् ।
वनारसमा महानायकको प्रार्थना
हाल युरोप भ्रमणमा रहेका नेपाली फिल्मका महानायक राजेश हमालले भारतको प्रसिद्ध धार्मिकस्थल वनारस पुगी प्रार्थना गरेका छन् । उनले आफ्नो फेसबुकमा वनारसमा प्रार्थना गरिरहेको तस्बिर अपलोड गरेका छन् ।
समाचारअनुसार वनारस यात्रापछि हमाल नेदरल्यान्डतर्फ उडेका थिए । त्यहाँको आम्सटर्डमस्थित शेर्पा रेस्टुरेन्टमा हमालको उपस्थितिमा राहत संकलन गरिएको छ । पेरिसमा रहेका हमाल वनारस हुँदै नेदरल्यान्ड पुगेका थिए ।
युरोपका विभिन्न देशमा घुम्ने योजनामा रहेका हमालले सबै स्थानमा रहेका नेपाली तथा अन्यलाई नेपालको विपत्तिमा सहयोग गर्न आह्वान गरेका छन् ।
प्रतिक्रिया