काठमाडौं, १८ वैशाख । बिहीबारसम्म भूकम्प प्रभावित क्षेत्रमा ३२ राष्ट्रिय अन्तर्राष्ट्रिय चिकित्सा टोली परिचालन भइसकेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गृह मन्त्रालयका सहसचिव सागरमणि पराजुलीको नेतृत्वमा स्वास्थ्य मन्त्रालयका उपसचिव राजीव पोखरेलले सहयोगस्वरुप प्राप्त हुने औषधि उपकरणको भन्सार क्लियरेन्सको सहजताका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा काम सुरु गरेका छन् ।
यसैगरी केन्द्रीय दैवीप्रकोप उद्धारकोषबाट प्राप्त दुई करोड र नेपाल सरकारको एक करोड ३० लाख बजेट औषधि उपकरण र प्रकोप नियन्त्रण कार्यमा मात्र खर्च गर्ने गरी विभिन्न अस्पताल र स्वास्थ्य निकायलाई निकासा गरी पठाइएको छ ।
रकम उपलब्ध गराइएका निकायमा निजामती कर्मचारी अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, राष्ट्रिय ट्रमा सेन्टर, भक्तपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, भरतपुर अस्पताल, जिल्ला अस्पताल नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, गोरखा र काठमाडौं, जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, रामेछाप, मकवानपुर र दोलखा, प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, तथा स्वास्थ्य सेवा विभाग छन् ।
प्रतिक्रिया