राहत संकलनमा कलाकार

Sunitaकाठमाडौं । महाभूकम्पबाट पीडित बनेका परिवारलार्ई राहत दिने काममा फिल्मकर्मी सक्रिय भएर लागेका छन् । राहत संकलनदेखि घाइतेको उद्धारसँगै भूकम्पपीडित क्षेत्रको भ्रमण गरी सहयोग हस्तान्तरण गर्ने कार्यमा सक्रियता देखाइरहेका छन् ।

चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) जोडी आफ्नो संस्था महसञ्चार र नेपाल उद्योग परिसंघको संयुक्त प्रयासमा स्थापना भएको फन्डमार्फत १० टन राहत सामग्री लिएर सिन्धुपाल्चोकको चौतारा पुगेका थिए । ‘आर्मी र अर्को ट्रक गरी दुई ट्रक लिएर चौतारा गएका थियौँ, हामी आफंैले राहत बाँड्ने कुरा गरे पनि त्यहाँको माग पूरा गर्न सकिएन, हामीले १० टन सामान लिएर गए पनि त्यहाँको माग करिब हजार टन रहेछ,’ हरिवंशले भने, ‘त्यहाँ २० हजार थान पालको माग रहेछ तर हामीले ८० थान मात्र लगेका थियौँ । त्यहाँ राहत बाँड्दा पनि नपुग्ने पीडितबाट आक्रोश पैदा हुन सक्ने सम्भावना देखिएपछि स्थानीय प्रशासनलार्ई सामान जिम्मा लगायौँ ।’

हरिवंशका अनुसार महसञ्चारले कोसीमा बाढी आएको बेला परिसंघसँग मिलेर फन्ड स्थापना गरेको थियो । ‘हामी अब अन्य ठाउँमा पनि फन्डमार्फत राहत पु¥याउने योजनामा छौँ,’ उनले भने,‘फन्डमार्फत आर्थिक संकलन गरेर पनि पीडितलार्ई राहत दिने योजना बनाइरहेका छौँ ।’

यता अभिनेत्री प्रियंका कार्की भूकम्प गएलगत्तै घाइतेको उद्धारमा सक्रिय बनिन् । उनले उद्धारसँगै केही समय वीर अस्पतालमा बिरामीको सेवा पनि गरिन् । त्यस्तै, लोक गायिका सुनीता दुलालले आफ्नो गाउँ सिन्धुपाल्चोकको जलवीरेमा रहेका भूकम्पपीडितको सहयोगार्थ एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन् ।

फिल्म ‘हाउ फन्नी’की निर्मात्री एवं पूर्वमिस नेपाल माल्भिका सुब्बा र फिल्मकी निर्देशक निलु डोल्मा शेर्पाले नुवाकोटका भूकम्प पीडितलार्ई राहत सामग्री पठाए । हास्य कलाकार निरु खड्काले मुूलपानीमा घर भत्केका ठाँउमा गएर इट्टा पन्छाउन भ्याइन् ।

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘चकलेट’की प्रमुख कलाकार तथा निर्मात्री पुजना स्त्रीले पनि फिल्म युनिटको तर्फबाट राहत संकलन अभियान सुरु गरेकी छन् ।

‘अहिले हामी निकै जटिल अवस्थामा गुज्रिरहेका छौँ, पीडितहरूले राम्रो खान, बस्न र लगाउन त के राहतका कुरा पनि पाएका छैननर्,’पुजनाले भनिन्,‘त्यसकारण पनि अहिले हामी सबै कामलार्ई थाती राखेर राहत संकलन कार्यमा लागेका छौँ ।’ (सौस)

प्रतिक्रिया