मुम्बई । नेपालमा गत शनिबार गएको महाभूकम्पमा ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै बलिउड बिग बी अमिताभ बच्चनले सन् १९५४ मा गरेको पहिलो नेपाल भ्रमणको स्मरण गरेका छन् । उनका अनुसार नेपालको यात्रा नै उनको पहिलो विदेश भ्रमण हो ।
अमिताभले आफ्नो ब्लगमा नेपाल भ्रमणका विविध पक्षलार्ई खुलाएका छन् । ‘मैले १९५४ मा नेपालको यात्रा गरेँ, ‘हामी त्यो बेला इलाहाबादमा बस्थ्यौँ, बुबाले आफ्ना घनिष्ठ समकालीन साहित्यकारमध्ये केहीसँग मिटिङ गर्ने इच्छा जाहेर गर्नुभएको थियो, हामीले पटना हवाई अड्डाबाट नेपालको राजधानी काठमाडौंका लागि प्रोपेलर डकोटा विमानबाट उडान गरेका थियौँ,’उनले ब्लगमा लेखेका छन्, ‘विमानमा त्यो नै मेरो पहिलो यात्रा थियो र निश्चित रूपमा विदेशको कुरा पनि पहिलो भ्रमण थियो । त्यो बेलाको खुसी अहिलेकोसँग तुलना गर्न सक्दिन । त्यो बेला म निकै राम्रो स्थितिमा थिएँ र मेरो साथीमाझ मेरो प्रतिष्ठा पनि राम्रै बनिरहेको थियो ।’
बच्चन त्यसपछि फिल्मको सुटिङका लागि निकैपटक नेपाल गएका थिए । उनले ब्लगमा विकास र परिदृश्यको दृष्टिकोले नेपालमा निकै बदलाव आएको उल्लेख गर्दै भारतीय फिल्मप्रति नेपालीको प्रेम अझै रहेको दर्शाएका छन् ।
नेपालमा गएको विपत्तिलार्ई निकै चासोपूर्वक हेरिरहेका अमिताभले ट्विटरमार्फत पटकपटक सहयोगका लागि आहन पनि गरिसकेका छन् । ‘नेपाल एउटा सपना हो, त्यो बेला त्यहाँको भौगोलिक बनावट निकै विकसित बनिरहेको थियो, एउटा विदेशी भूमि भए पनि भारतजस्तै नेपालले विश्वव्यापी गुणस्तरीयतालार्ई प्रस्तुत गरिरहेको छ,’ ७२ वर्षे अभिनेताले लेखेका छन्, ‘त्यो बेलाको काठमाडौं विकासको प्रक्रिया (खुला, सीमित र आधारभूत)मा थियो ।’ उनले नेपाल भ्रमणका बेला लगाएको चिनियाँ पन्जा र बेन्डगला जोधपुरी ज्याकेटको पनि स्मरण गरेका छन् ।
अमिताभले ब्लगमा नेपालमा रहँदा सिकेका भाषा ‘काँक्रो खायो ?,’ ‘कस्तो लाग्यो ?’ र ‘राम्रो लाग्यो राम्रो लाग्यो’ संवादको उल्लेख गरेका छन् । उनले यो संवाद सन् १९८३ को फिल्म ‘महान’मा प्रयोग गरेका छन् । उनले नेपालमा फिल्म ‘खुदा गवाह’को पनि सुटिङ गरेका थिए ।
त्यो बेलाका मानिसको व्यवहार सम्झँदै उनले नेपालीको माया, आतिथ्यता, आत्मीयतालार्ई नभुलेको जनाएका छन् । भूकम्पले विशेषतः विश्व सम्पदा सूचीमा पारेका सम्पदाहरूको विनाश भएकामा अत्यन्त दुःख व्यक्त गर्दै नेपालीले भवितव्यलार्ई बिर्सेर आफ्नो जीवनलार्ई पुरानै शैलीमा फर्काउन सक्नेमा उनले आत्मविश्वास राखेका छन् । (एजेन्सी)
प्रतिक्रिया