काठमाडौं । महाभूकम्पबाट घाइते बनेका व्यक्तिका लागि फिल्म पत्रकार र निर्देशकले बिहीबार राजधानीमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।
चलचित्र पत्रकार संघ र नेपाल चलचित्र निर्देशक समाजको संयुक्त पहलमा भृकुटीमण्डपस्थित रक्त सञ्चार केन्द्र (ब्लड बैंक)मा आयोजना गरिएको रक्तदान कार्यक्रममा सेलिब्रेटी, पत्रकार र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।
संघका अध्यक्ष शान्तिप्रियका अनुसार कार्यक्रममा ४ सय पिन्ट रगत संकलन गरिएको थियो । उनले सबै पिन्ट ब्लड बैंकलार्ई बुझाइएको बताए । कार्यक्रममा करिब ७५ जना सेलिब्रेटीले आफ्नो रगत दान गरेका थिए ।
अभिनेता आर्यन सिग्देल, अभिनेत्री नम्रता श्रेष्ठ, निर्माता सुवास गिरी, सुनीलकुमार थापा, अभिनेत्री झर्ना थापा, अभिनेता हसनराजा खान, निर्देशक सुमन दाहाल, दिनेश राउत, संगीतकार टंक बुढाथोकीलगायतले रक्तदान गरेका थिए ।
अभिनेता आर्यनले विपत्तिमा परेका घाइतेको उपचारका लागि रक्तदान गर्न पाउँदा खुसी लागेको बताए । ‘यो बेला हामी सबैले पीडितलार्ई सहयोग गर्नुपर्छ, रक्तदानबाहेक अन्य काममा पनि हामी सहयोग गर्नेछौँ,’ उनले भने । (सौस)
प्रतिक्रिया