सेलीब्रेटी भन्छन् बाँचौं र बचाऔं

selena-gomez-brings-awareneहलिउड अभिनेत्री सेलेना गोमेजले भूकम्प पीडितलाई सम्पूर्ण अमेरिकीले सहयोग गर्नुपर्ने बताएकी छिन् ।

२२ वर्षीया गोमेजले आफ्नो ट्विटरमा लेखेकी छिन् , ‘भूकम्पबाट पीडित बालबालिकालाई सहयोग गरौँ, युनिसेफको सहयोग अभियानमा हातमालो गरौँ ।’ उनले नेपालमा गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या मंगलबारसम्म चार हजार छ सयभन्दा बढी रहेको समेत उल्लेख गरेकी छिन् ।

त्यस्तै, नौ हजारभन्दा बढी घाइते भएकोसमेत उनले उल्लेख गरेकी छिन् । नेपालमा भएको भूकम्पबाट झन्डै ८० लाख प्रभावित भएको अनुमान संयुक्त राष्ट्रसंघले गरेको छ । भ्याटिकन सिटीस्थित सेन्ट पिटर्स स्क्वायरमा क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसले भूकम्पका कारण ज्यान गुमाउनेहरूको सम्झनामा श्रद्धाञ्जली सभा राखेका छन् ।

उनले प्रार्थनाका क्रममा नेपालीहरूलाई सहयोग गर्न सबैलाई आह्वान गरेका छन् । उनले पीडितहरूका लागि आफूले प्रार्थना गरिरहेको बताए । बाँकी विश्वले नेपालीहरूको पीडामा साथ दिनुपर्ने धर्मगुरु पोपले बताएका छन् ।

दुई वर्षअघि नेपाल भ्रमणमा आएका साउदीका राजकुमार अलविद विन तलालले भूकम्पपीडित नेपालीहरूका लागि १० लाख अमेरिकी डलर सहयोग गरेका छन् ।

उनको परोपकारी संस्था अलविद विन तलालले नेपालका भूकम्प पीडितका लागि सहयोग स्वरूप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त फाउन्डेसनले अन्य मुलुकका पीडित जनताहरूका लागि पनि यसरी नै सहयोग गर्दै आएको थियो ।

नेपाल भ्रमणमा क्रममा साउदीका राजकुमारलाई सरकारले देशकै सर्वोच्च मान पदवी प्रदान गरेको थियो । तलालले नेपाली जनतालाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो रहेको भन्दै सहयोगी हात अघि बढाउन सम्पूर्णलाई अनुरोध गरेका छन् ।

नेपाली मूलका भारतीय फुटबलर सुनिल क्षेत्रीले च्यारिटी एड फाउन्डेसनमार्फत रकम संकलन गर्न अपिल गरेका छन् ।

उनले नेपालमा मच्चिएको भूकम्पले पीडा दिएको भन्दै फेसबुकमा निराशा पोखेका छन् । विपत्तिको समयमा सम्पूर्ण नेपाली एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।

सुनिलका बाबु–आमा दिल्लीमा बस्दै आए पनि उनकी हजुरआमा परिवारसहित झापास्थित चारआलीमा बस्दै आएकी छिन् । भूकम्पले झापास्थित उनको घरमा कुनै क्षति पु¥याएको छैन ।

नेपाली फेसन डिजाइनर प्रबल गुरुङले अमेरिकामा भूकम्प पीडितका लागि १० लाख अमेरिकी डलर संकलन गरेका छन् । उनी लामो समयदेखि हलिउडमा स्थापित फेसन डिजाइनर हुन् ।

उनले चलाएको अभियानमा अमेरिकाका थुप्रै चर्चित व्यक्तित्वहरूको समेत साथ छ । मातृभूमिलाई सहयोग गर्न पाउँदा गुरुङ निकै खुसी छन् । उनले सबै मिलेर विपत्तिको सामना गर्नुपर्ने बताएका छन् ।
यसअघि अभिनेत्री जोन्ना लुम्लेले नेपालीहरूलाई सहयोग गर्न आग्रह गर्दै बेलायती जनतालाई पत्र लेखेकी थिइन् । उनले पत्र लेखेको २४ घन्टा नबित्दै नेपालका भूकम्पपीडितहरूको सहयोगार्थ बेलायती जनताले कोषमा झन्डै तीन अर्ब रकम जम्मा गरिसकेका छन् ।

उनले लेखेकी छिन्, ‘भारी मन बोकेर म यो लेख्न बाध्य छु, मेरो जीवनको पाटो बनेको देश, हाम्रो देशको जीवन बनेको देश, अहिले शोकमा छ ।’

यसअघि अवकाशपश्चात् बेलायतमा बस्न पाउनुपर्ने गोर्खा सैनिकको अधिकारका लागि लडेकी अभिनेत्री जोन्नाले नेपालीहरूसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्, ‘मेरो आफ्नै बाबुले १८ वर्षसम्म गोर्खा राईफल्समा सेवा गर्नुभएको थियो ।

नेपाली सैनिकसँग काँधमा काँध मिलाएर उहाँ लामो समय लड्नुभयो । गोर्खा सैनिकहरूले बेलायतलाई दोस्रो विश्वयुद्धमा सहयोग गरे र अहिले पनि सहयोग गरिरहेका छन् ।’

नेपालमा बाँचिरहेका व्यक्तिहरू चरम गरिबीमा रहेको उनको पत्रमा उल्लेख छ । दैनिक जीवन सञ्चालनका लागि नेपालीहरूले संघर्ष गरिरहेको उनले उल्लेख गरेकी छन् । सन् १९९० सालपछि आएको विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरूको संंख्या दिनदिनै थपिँदो छ ।

अभिनेत्री लुम्लेले लेखेकी छिन्, ‘यस भूकम्पले नेपालीहरूसँग भएको सानो खुसी पनि छिनेर लगेको छ । आमाहरूले छोराछोरी गुमाएका छन्, श्रीमान्हरूले श्रीमती र मृतकहरूको संख्या यसरी नै बढिरहेको छ ।’ उनले लेखेकी छिन्, ‘भूकम्प केवल ६० सेकेन्ड मात्रै भयो तर त्यसको प्रभाव लामो समयसम्म रहनेछ । नेपालीहरूलाई अहिले हाम्रो सहयोग आवश्यक छ ।’ लुम्लेले आफ्नो अभियान निरन्तर जारी रहने पनि जनाएकी छिन् ।

– लुम्ले

म नेपालको भूकम्पपीडितहरूको समर्थनमा सहयोग जुटाइरहेको छु । हामीले संकलन गरेको सहयोग रकम नेपाली दाजुभाइलाई उद्धार गर्न खटिरहेका बेलायती नियोगहरूले प्रदान गर्नेछन् । उनीहरूलाई तत्कालै प्रभावकारी ढंगबाट उद्धार गर्न यो सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
चन्दा रकम सोझै घाइतेको उपचार, घरबारविहीनलाई बसोबास र पानी, खाद्यान्न र अन्य आवश्यक सामग्री उपलब्ध गराउनका लागि जानेछ । उनीहरूले सबै गुमाएका छन्, धेरै पीडामा परेकाहरूको जीवन रक्षार्थ सहयोग दिइनेछ, यसमा बालबच्चा, जेष्ठ नागरिक र अपांगहरू समेत छन् ।
नेपालका जनतालाई तत्कालै हाम्रो साथ चाहिएको छ र यसलाई उनीहरू हार्दिकतापूर्वक स्विकार्नेछन् । पाँच पाउन्डले एक परिवारलाई एक दिनसम्म पाल्न सक्नेछ, १० पाउन्डबाट दुई सातासम्म दुई परिवारलाई शुद्ध पानी उपलब्ध गराउन सकिनेछ, २० पाउन्डले ५ परिवारलाई तत्कालै बस्नका लागि टेन्टको व्यवस्था गर्न सकिनेछ । त्यसैले यस अपिललाई गम्भीरतापूर्वक लिनुभयो भने हाम्रो सहयोगको आशामा प्रतीक्षारतसमक्ष राहत पुग्नेछ ।
तपाईंहरू सबैप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु । मलाई नेपाली समुदायलाई सहयोग गर्नका लागि अग्रसर हुन पाउँदा गर्व लागेको छ ।

प्रतिक्रिया