काठमाडौं, ५ वैशाख नेपाल भलिबल संघको वार्षिक कार्यतालिका अनुसार २१ वैशाखदेखि तेस्रो राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप हुने भएको छ ।
पुरुष क्लब लिग च्याम्पियनसिप भने ३२ जेठदेखि चार असारसम्म हुने नेपाल भलिबल संघले जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले पुरुष भलिबल टोली बंगलादेशको ढाकामा हुने प्रथम एबिसी सेन्ट्रल जोन सिनियर मेन्स च्याम्पियन्ससिप प्रतियोगिताको तयारीमा रहेकाले प्रतियोगिता एकैचोटि गराउन नसकिएको बताए ।
प्रतियोगितामा महिलातर्फ सात टोलीले तथा पुरुषमा छ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । सहभागी महिला टोलीमा न्यु–डायमन्ड एकेडेमी, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, नेपाल पुलिस क्लब, श्री गाउँ स्पोर्टस क्लब (दाङ), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र नवप्रवेशी त्रिभुवन आर्मी क्लब रहेका छन् । यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, ढोरपाटन स्पोट्र्स प्रशिक्षण क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र हेल्प नेपाल स्पोट्र्स क्लब रहेका छन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने दुवै तर्पmका खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक विधामा उत्कृष्ट हुने (सर्भर, लिब्रो, ब्लकर, लिफ्टर र स्पाइकरले समान पाँच–पाँच हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताको दुवै तर्फको विजेताले समान १ लाख ५० हजार प्राप्त गर्नेछन् । यस्तै दुवै तर्फको दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ हजार र ४० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कवर्डहलमा हुनेछ ।
राष्ट्रिय टोलीका प्रशिक्षक कपिल किशोर
यसैबीच सोही सम्मेलनमा नेपाली पुरुष राष्ट्रिय टोलीले प्रथम एबिसी सेन्ट्रल जोन सिनियर मेन्स प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपाले भलिबल संघले जानकारी गराएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक कपिल किशोर श्रेष्ठले टोलीले राम्रो तयारी गरेको बताए । उनले नेपाल रहेको समूहमा माल्दिभ्स नै कठिन प्रतिद्वन्द्वी भएको बताए ।
नेपाली भलीबलका उत्कृष्ट प्रशिक्षक श्रेष्ठ यसअघिका मुख्य प्रशिक्षक हुन् । काठमाडांैमा भएको दक्षिण एसियाली पुरुष भलिबल च्याम्पियनसिप पछि उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारीबाट हटाइएको थियो । उनको क्लब एपिएफ महिलातर्फ निर्विवाद पहिलो शक्तिको रूपमा रहेको छ । पुरुष स्पर्धामा एपिएफ बलियो शक्ति भए पनि धेरै खेलाडी विदेसिए पछि बीचमा केही समय कमजोर बनेको थियो । अहिले एपिएफको पुरुष टोली फेरि बलियो बनेको छ ।
उनले नेपाल सम्मिलित अन्य टोली उज्जेकिस्तान, किर्किस्तान, तुर्केमिनिस्तान र ताजकिस्तानको भलिबल खेलमा नयाँ भएको बताए । ‘नेपाली टोलीलाई अन्तर्राष्ट्रिय अनुभव कम छ ।’ उनले भने, ‘यही प्रतियोगिताबाट अनुभव लिँदै प्रतियोगिताको मुख्य लक्ष्य भनेको नै माल्दिभ्सलाई पराजित गर्ने हो ।’ नेपाली टोली काठमाडौंमा आयोजना भएको प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलमा माल्दिभ्ससँग ३–० को सेटमा पराजित भएको थियो ।
बंगलादेशको राजधानी ढाकामा हुने प्रतियोगिताका लागि १८ खेलाडीले सातदोबाटोस्थित कवर्डहलमा प्रशिक्षण गरिरहेको छ । १८ खेलाडीबाट संघले १२ खेलाडी छनोट गर्दै जेठ सात गते त्यसतर्फ प्रस्थान गर्नेछ । दुई पोलबाट उत्कृष्ट तीनमा पर्ने टोली अर्काे चरणको लागि छानिनेछ ।
प्रतिक्रिया