पञ्चायतदेखि गणतन्त्रसम्म सक्रिय नेता

suryabahadur-Dhankutaकाठमाडौँ, ४ वैशाख । नेपाली राजनीतिक इतिहासका अनेक आरोहअवरोहका साक्षी सूर्यबहादुर थापाको अवसानले राजनीतिक वृत्तमा व्यापक चर्चा पाएको छ ।

मुलुकको कार्यकारी प्रमुखमा पाँचपटकसम्म जिम्मेवारी सम्हालिसकेका थापा पञ्चायतदेखि गणतन्त्रसम्मका सक्रिय नेता थिए । देशको राजनीतिक परिवर्तनका हरेक कालखण्डमा चर्चामा रहने थापा राजनीतिमा कहिल्यै पन्छाउन नमिल्ने पात्र थिए ।
पञ्चायतकालदेखि बहुदल र लोकतान्त्रिक गणतन्त्रको कालमा पनि राजनीतिमा उत्तिकै सक्रिय रही महत्वपूर्ण भूमिकामा रहेका राप्रपाका वरिष्ठ नेता थापा वर्तमान व्यवस्थापिका–संसद्, संविधानसभाका ज्येष्ठ सदस्य थिए । उनले सभामुखको निर्वाचन भई सुवास नेम्वाङले कार्यभार नसम्हाल्दासम्म ज्येष्ठ सदस्यका हैसियतले ‘सभाध्यक्ष तथा सभामुख’को भूमिका पनि निर्वाह गरेका थिए ।
छ दशकभन्दा बढी समय राजनीतिक जीवनमा सक्रिय थापा धनकुटाको मुगा गाविसमा वि.सं. १९८४ चैत ५ मा बुबा टेकबहादुर र आमा मनकुमारीको कोखबाट जन्मिएका थिए । लामो समय पञ्चायती राजनीतिमा सत्तासीन भएर पनि उनले सुधारिएको पञ्चायतको वकालत गरे । छयालीस सालको बहुदलीय प्रजातन्त्रलाई आत्मसात् गरेको तथा लोकतान्त्रिक आन्दोलनपछि गणतन्त्र स्थापनालाई स्विकारेका कारण उनलाई सदैव दरबारको पक्षपाती मात्र मान्न सकिँदैन । दरबारभित्र ‘भूमिगत गिरोह’ रहेको भन्ने ‘उदारवादी समूह’का थापा त्यसलाई बहुदलकालमा प्रधानमन्त्री हुँदा पनि गौँडा–गल्छामा भेटिने अभिव्यक्ति दिन्थे ।
भारतको अल्लाहबाद विश्वविद्यालयबाट स्नातक गरेका थापा राप्रपा (थापा) का संस्थापक एवं राप्रपाका पूर्वअध्यक्ष हुन् । वि.सं. २००७ मा विद्यार्थी छँदै राणा शासनको विरोध र प्रजातन्त्रका पक्षमा भूमिगत भई राजनीतिक जीवन प्रारम्भ गरेका थापा त्यसबेला नेपाली कांग्रेसमा आबद्ध थिए ।
तत्कालीन समयमा चर्चित राजनीतिक व्यक्तित्व बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, टंकप्रसाद आचार्य, कृष्णप्रसाद भट्टराई, तुलसीलाल अमात्य, मनमोहन अधिकारी र डिल्लीरमण रेग्मीहरूका सहयात्री थापाको निधनसँगै मुलुकले अर्का पुराना र पाका राजनीतिक व्यक्ति गुमाएको छ ।
लोकतान्त्रिक शक्तिबीच बृहत् एकता, सहकार्य गरी मुलुकलाई शान्ति र संविधान दिनुपर्नेमा एक महिनाअघिसम्म सार्वजनिक आह्वान गर्ने नेता थापा विसं २०११ मा सल्लाहकार सभाको सदस्यमा निर्वाचित भई त्यसकोे अध्यक्ष (सभामुख) पनि भएका थिए ।
गत चैत ५ गते आफ्नो ८८औँ जन्मदिनका अवसरमा निवास मालीगाउँमा कार्यक्रम गरी सहमति र सहकार्यबाट नयाँ संविधान ल्याउन प्रमुख दललाई आह्वान गरेका थापा पछिल्लो समय राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको एकता हुनुपर्ने पक्षमा थिए ।
वि.सं. २०१५ मा भएको संसदीय निर्वाचनमा कांग्रेस छाडेर धनकुटामा स्वतन्त्र हैसियतमा प्रत्यासी भई पराजित भए पनि राष्ट्रिय सभा (माथिल्लो सभा) मनोनीत भएका थिए । त्यसपछि पञ्चायतका पक्षमा खुलेर लागेका थापा दरबारबाट कृषि, वन र उद्योग मन्त्रीमा नियुक्त हुनाका साथै राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत भएका थिए ।
त्यसपछिका निर्वाचनमा लगातार धनकुटाबाट विजयी बनेका थापा ३८ वर्षको उमेरमा वि.सं. २०२२ मा पहिलोपटक प्रधानमन्त्री बने । यस्तै २०३५, ०३८, ०५४ र ०६१ मा पटकपटक प्रधानमन्त्री बनेका थिए ।
तत्कालीन राजा महेन्द्रसँग अत्यन्त निकट मानिने ‘संकटका प्रधानमन्त्री’ थापा बहुदलीय प्रजातन्त्रको पुनःस्थापना हुनुपूर्वको समयमा भने राजा वीरेन्द्रसँग सम्बन्ध बिग्रिएका कारण प्रधानमन्त्रीबाट अपदस्तसमेत भए । यसबीचमा उनलाई विसं २०२६ मा नख्खु कारागारमा पनि राखिएको थियो भने २०२९ सालमा नजरबन्दमा राखिएको थियो । उनले राजनीतिक सुधारको माग गर्दै २१ दिने भोक हडताल पनि गरेका थिए ।
वि.सं. २०३७ को जनमतसंग्रहमा निर्दलीय व्यवस्थाले जितेपछि उनी पुनः प्रधानमन्त्री बने । वि.सं. २०४७ मा राप्रपा (थापा) खोली त्यसको संस्थापक अध्यक्ष भएका थापा पार्टीको विवादका कारण वि.सं. २०६१ मा सो पार्टीबाट अलग भई राष्ट्रिय जनशक्ति पार्टीको संस्थापक अध्यक्ष बन्न पुगे । पछि पशुपतिशमशेर राणा अध्यक्ष रहेका बेला पुनः राप्रपामा एकता गरी पुनः अध्यक्ष बने । थापाका छोरा सुनीलबहादुर हाल वाणिज्य तथा आपूर्तिमन्त्री छन् ।

प्रतिक्रिया