लसएन्जल्स । लागुऔषध कोकिन प्रयोग गरिरहेको भिडियो सार्वजनिक भएपछि हलिउड गायिका रिहाना विवादमा मुछिएकी छन् । अमेरिकाको क्यालिफोर्नियामा आयोजित म्युजिक फेस्टिबलमा सहभागिता जनाउन पुगेकी २७ वर्षीया गायिकाले कोकिन लिँदै गरेको भिडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएकी हुन् ।
कार्यक्रम भएको स्टेजपछाडिको एक कोठामा उनले केही बस्तु नाकमा लगेर सुँघिरहेको भिडियो भेटिएपछि उनले कोकिन प्रयोग गरेको फ्यानहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इन्स्टाग्राममा पोस्ट गरिएको भिडियोमा रिहाना आफ्ना साथीहरूसँग स्टेजपछाडि पार्टीमा व्यस्त भएको देख्न सकिन्छ । भिडियोमा गायिकाले हातमा केही वस्तु लिएर सुँघिरहेको देखिन्छ ।
भिडियोमा रिहाना टेबलमा बसेकी छन् भने उनका साथीहरू नाच्नै मस्त देखिन्छन् । इन्स्टाग्राममै एस एण्ड एम गायिकाले ‘घेटो योउट’ शीर्षकमा पोस्ट गरिएको भिडियोमा उनकी साथी मिलिसा फोर्डे नृत्य गरिरहँदा गायिका चाहिँ टेबलमा केही कुरा छुँदै हासिरहेको देखिएको छ ।
तर बार्बाडियन गायिकाले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफूले कोकिन नभई चुरोट सेवन गरेको दाबी गरेकी छन् ।
प्रतिक्रिया