म बिरामी छैन : अञ्जु

Anju-Pantaचितवन । गायिका अञ्जु पन्तले आफू स्वस्थ रहेको बताएकी छन् । आफ्नो स्वास्थ्यका विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा आएका टिकाटिप्पणीको खन्डन गर्दै अञ्जुले बिरामी नभएको जनाएकी हुन् ।

‘म बिरामी भएकी छैन,’ गायिका अञ्जुले चितवनको सौराहमा नयाँ वर्षका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा भनिन्, ‘मेरो स्वास्थ्यका बारेमा भएका चिन्ता र चर्चा परिचर्चाप्रति म दुःखी छु ।’ गायिका अञ्जु बिरामी भएका कारण गीत गाउन नसक्ने भनेर सञ्चारमाध्यममा समाचारका साथै सामाजिक सञ्जालहरूमा टिकाटिप्पणी आएका थिए ।

नयाँ वर्षका अवसरमा सौराहमा आयोजित सांस्कृतिक कार्यक्रममा पहिलोपटक पुगेकी गायिका अञ्जुले मध्यरातिसम्म बसेर गीत गाएकी थिइन् । उनले दर्शकहरूलाई कार्यक्रम अवधिभर बस्न पनि अनुरोध गरेकी थिइन् । अञ्जुले ‘तिम्रो आँखामा आँसु हेरी…’, ‘धेरैलाई बाँड्दा नपुग्ला माया…’, ‘न बिर्सें तिमीलाई…’लगायतका गीतले मन्त्रमुग्ध बनाएकी थिइन् ।

प्रभुश्री कला केन्द्र सौराहाले आयोजना गरेको कार्यक्रममा लोकदोहोरी गायक राजु परियारले ‘रुमाल धोको छु…’, चितवनकी चेलीका रूपमा परिचित मान्डवी त्रिपाठीले ‘मात लाग्यो..’, ‘सिम्पल सिम्पल कान्छी…’ले दर्शकलाई नचाएका थिए । यस्तै पोखरेली माग्ने बुढा र धर्मुस राजेन्द्र नेपाली र युवराज भण्डारीले दर्शकहरूलाई प्रहसनमार्फत हँसाएका थिए । दोहोरी गायिका सम्झना लामिछाने मगरले ‘फूल फुलेर पहेंलै भयो…’ गीत गाउँदै नचाइन् । डान्सर विपाशा बीसी र रत्ननगर कला मन्दिरका कालाकारहरूले पनि दर्शक श्रोताको मन जित्न सफल भएका थिए ।

अर्का गायक रमेशराज भट्टराईले ‘बबाल भो, बबाल भो… ’ बोलको गीत वान्स मोर पाउँदा तीनपटकसम्म गाउनुप-यो । उनको गीतमा स्थानीय दर्शक मात्र नभई सौराहा घुम्न आएका पर्यटकले पनि कम्मर मर्काएका थिए । लोकभाकाको गीत ‘सालैजो…’मा लोक पारखी रमाइरहँदा कहिले उनी ‘मलाई तिमीले चाहेरपनि…’मा भावुक बनाइदिन्थे । करिब तीन घन्टासम्म चलेको कार्यक्रममा दर्शकले गर्मीको परवाह नगरी मनोरन्जन लिइरहे । दर्शकमाझ पुगेर पनि उनले गीत गाएका थिए ।

प्रतिक्रिया