अभिभावकसँगै केटाकेटी पनि

manoj-sjb-ranaसूर्यभुषण बज्राचार्य नेपाली टेनिसका परिचित प्रशिक्षक । परिचय फेरिएको छ, अहिले । नेपालका स्टार टेनिस खेलाडी संरक्षकभुषण बज्राचार्यका बाबुको रूपमा उनी अहिले चिनिएका छन् । बज्राचार्य परिवार पूरा टेनिसमा समर्पित नाम हो ।

रक्षकका भाइ सम्यकभुषण बज्राचार्य नेपाली जुनियर राष्ट्रिय टोलीका सदस्य । संरक्षक यु–१४ का राष्ट्रिय च्याम्पियन । सम्यक पनि यु–१२ मा शीर्ष दुईमा अटाउने खेलाडी । त्यसो त संरक्षककी आमा रेनुदेवी कोन्डा टेनिस प्रशिक्षक नै हुन् ।

नेपाली टेनिसको शैली फेरिएको छ । खेलाडीहरू मात्र होइन, अभिभावको जमातसमेत टेनिसमा समर्पित छ । त्यसको उदाहरण हो बज्राचार्य परिवार । योभन्दा अघि नै अध्यक्ष मनोज राणाको परिवार त्यसै खालकोे परिवारको रूपमा रहेका छन् ।

राणाकी छोरी मल्लिका राणा अहिले खेलमा सक्रिय छैनन् । तथापि उनी कुनै समयकी राष्ट्रिय च्याम्पियन हुन् । मनोजका अन्य दुई छोरी मायंका र महिका अहिलेका परिचित टेनिस स्टार हुन् ।

मायंकाकी आमा ज्योती राणा टेनिस संघकी उपाध्यक्ष मात्र नभई दिवंगत छोराको नाममा स्थापित जयकर टेनिस एकडेमीको नेृतत्वकर्तासमेत हुन् । बाल्यकालमै दिवंगत जयकर राणा पनि टेनिस खेलाडी थिए ।

नेपाली युथ टेनिसले अहिले लामो फड्को मारेको छ । एसियन युथमा तेस्रो स्थान पाएको नेपालले यसै वर्ष जुनियर ग्रान्डस्लामको बाटोमा आफूलाई समावेश गरिसकेको छ । थाइल्यान्डमा सम्पन्न एसियन जुनियर डिभिजन वानको खेलमा सहभागिता जनाउँदै एनी माथेमा र संरक्षकले आफूलाई विश्वव्यापी शृंखलाको बाटोमा अघि बढाए ।

‘यी सबै सफलताका कारक अभिभावक, प्रशिक्षक, खेलाडी र टेनिसमा आबद्ध कर्मचारी सबै हुन्,’ अध्यक्ष मनोज राणाको भनाइ छ । दक्षिण पूर्वी एसियाको जिम्मा पाएका एसियाली टेनिस महासंघ (एटीएफ) का प्रमुख सुरेश मेननको नेपालको यो फड्कोमा विशेष पहल र योगदान छ ।

केही महिनाअघि नेपाल भ्रमणमा आएका मेननले भनेका थिए, ‘नेपालीहरूमा क्षमता छ । उनीहरू धेरै प्रतियोगितामा व्यस्त हुनुप¥यो ।’ नेपालबाट फर्केका मेननले लगत्तै नेपाली टेनिसलाई अवसरको खोजी गरिदिन थाले ।

अन्य खेलभन्दा पछिल्लो समय नेपाली खेलकुदमा केही सफलताका परिणामहरू देखिए । नामिबियामा भएको डिभिजन ‘टु’ क्रिकेटको सर्वत्र चर्चा भयो । नेपालले खेलेका प्रतियोगितामध्ये त्यसै प्रतियोगिता सबैभन्दा चर्चामा रह्यो । सर्वाधिक चर्चामा त्यो एक खेल भए पनि गत महिना केही अन्य खेलले समेत महत्वपूर्ण सफलता दिलाए ।

नेपाली महिला भलिबल टोलीले काठमाडौंमा भएको दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसीपमा दोस्रो स्थान पायो भने माल्दिभ्समा भएको बिच भलिबल फेज वानमा नेपाली महिला टोली पहिलो हँदै फेज ‘टु’मा प्रवेश ग¥यो । १३ औं दिल्ली ओपन चेस प्रतियोगितामा नेपाली खेलाडी विवेक लामाले उत्कृष्ट प्रदर्शन गरे । यी यावत् सफलताका बीचमा लागातार उत्कृष्ट प्रदर्शन गर्नेमा नेपाली टेनिस टोली रह्यो । कतारको दोहामा भएको एसियन जुनियर टेनिस प्रतियोगितामा नेपाली टेनिस टोली कास्य पदक जित्न सफल भएको थियो ।

लीमा संरक्षकभुषण बज्राचार्य, रेन्जन लामा, सम्यकभुषण बज्राचार्य र प्रनव खनाल समावेश थिए । तल्लो बरियता पाएको नेपालले समूह चरणमा साउदी अरेबिया, कतार र यसअघि शीर्ष बरियतामा रहेको काजकिस्तानलाई पराजित गरेको थियो । सेमिफाइनलमा यमनसँग पराजित नेपालले तेस्रो स्थानका लागि भएको खेलमा जोर्डनलाई पराजित गरेको थियो ।

त्यसलगत्तै युवा महिला टोली भारत भ्रमणमा पुगेको थियो । भारतमा प्रदर्शन सामान्य रहे पनि लगत्तै भियतनामको होचिमिन्ह सिटीमा भएको आईटीएफ एसियन जोनल जुनियर टेनिस प्रतियोगितामा नेपाली टोलीले त्यत्तिकै उत्कृष्ट प्रदर्शन गरे । प्रतियोगितामा तेस्रो स्थान पाएका संरक्षकभुषण बज्राचार्य आईटीएफ गे्रडिङमा बढुवा हुँदै ग्रेड वानका खेलाडी बने । महिला युगलमा एनी माथेमा र इरा राउतको जोडी पहिलो भयो ।

यी यावत् सफलतालाई नेपाल टेनिस संघका अध्यक्ष मनोज राणा नेपाली टेनिसको परिचय नै बदलिएको बताउँछन् । यी सफलतापछि एसियामा नेपाल टेनिस खेलिने नभई टेनिसमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने देशका रूपमा चिनिन थालेको राणाको मत छ ।

त्यसो त यी सफलता त्यत्तिकै आएका होइनन् । आईटीएफको सहयोगमा जुनियर इन्सेटिभ टेनिस प्रोग्रामलाई सही ढंगले सदुपयोग गरेका कारण यी सफलता पाएको राणा बताउँछन् । दोहामा भएको प्रतियोगितामा नेपाली टोलीका प्रशिक्षक रहेका सूर्यभुषण बज्राचार्य भने नेपाली टोलीमा उत्कृष्ट खेलाडी रहेको बताउँछन् ।

सूर्यका अनुसार घरेलु प्रतियोगिता प्रतिस्पर्धात्मक भएका कारण खेलाडीको उत्कृष्टता बढेको उनको मत छ । हाल नेपालमा एक सय ५० भन्दा बढी युवा खेलाडी नियमित प्रशिक्षणमा छन् । वार्षिक पाँचवटा जुनियर प्रतियोगिताको आयोजना हुन थालेका छन् । भियतनाममा भएको प्रतिस्पर्धाबाट ब्वाइजमा संरक्षकभुषण र रेन्जन लामाको साथमा प्रशान्त थापा छनोट भएका थिए ।

यसैगरी महिलातर्फ एनी र इराको साथमा क्याथरिन माथेमा छनोट भएका थिए । केही महनाअघि नेपाल आएका एटीएफका दक्षिण एसिया हेर्ने डेभ्लप्मेन्ट अफिसर सुरेर मेननले पनि नेपाली खेलाडीको प्रशिक्षण र खेल हेरेर अत्यधिक सम्भावना रहेको र त्यसलाई मूर्तरूप दिन अत्यधिक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया